Print

कुश्मामा ५८ प्रतिशत खर्च


७ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले कुल बजेटको ५८ प्रतिशत खर्च गरेको छ । असार ६ गतेसम्म कुल बजेटको ५८ प्रतिशत मात्र खर्च भएको नगरपालिकाले जनाएको छ । शुक्रबार सम्पन्न नगर सभामा आगामी बजेट प्रस्तुत गर्दै नगरपालिकाले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

चालु आर्थिक बर्षमा कुल ८८ करोड १६ लाख ५६ हजार बजेट विनियोजन भएकोमा हालसम्म ५१ करोड ४ लाख रुपैंया मात्र खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख स्वस्थानी रिजालले प्रस्तुत गरेको तथ्यांकमा असार मसान्तसम्म कुल ८७ प्रतिशत रकम खर्च हुने उल्लेख गरिएको छ । चालु आर्थिक बर्षमा कुल ७ करोड ७४ लाख रुपैंया आन्तरीक आम्दानी प्रक्षेपण गरिएको थियो ।

नगरपालिकाले प्रक्षेपण गरेको झण्डै २२ प्रतिशत मात्र आन्तरीक आय संकलन भएको छ । नगर सभा अघि कुल १ करोड ७४ लाख रुपैंया रकम मात्र संकलन भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षमा यस बर्षको वचत रकम सहित ९ करोड ६६ लाख ७७ हजार रकम आम्दानीको रुपमा रहने उल्लेख गरेको छ ।
सदरमुकामको नगरपालिका भए पनि यहाँबाट संकलन हुनुपर्ने सम्पत्ति कर अपेक्षित रुपमा उठ्न नसक्दा नगरपालिकाको आम्दानी श्रोत घटेको छ ।