Print

क्याम्पसहरुमा विद्यार्थी घट्नु युवा पलाएनको प्रमाण हो : नगरप्रमुख जोशी


१२ फागुन, पर्वत । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताएका छन् । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु पलाएन भएको प्रमाण खोज्न क्याम्पसहरुमा जानुपर्ने धारणा राखे ।

जिल्लाका सवैजसो आंगिक क्याम्पासहरुमा बर्षेनी विद्यार्थीको संख्या घटिरहेको छ । विद्यार्थीहरुको संख्या घट्ने विषय युवा पलाएन भएको नगरप्रमुख जोशीको तर्क थियो । पछिल्लो समय दुई क्याम्पसहरुको मर्जको कुरा उठिरहेको भन्दै नगरप्रमुख जोशीले अवको विकल्प क्याम्पसहरु मर्ज नै रहेको तर्क प्रस्तुत गरे । धेरै शिक्षालयहरु खोलेर कम विद्यार्थीलाई अध्यापन गराउनुको विकल्प थोरै क्याम्पसहरु राखेर धेरै विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने जोशीको तर्क थियो ।

कार्यक्रममा पब्लिक क्याम्पस संघका जिल्ला अध्यक्ष गोविन्द पहाडी, गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुवास पन्त, शिवालय बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष विष्णु नेवार, क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.चूडामणी शर्मा लगाएतले आफ्नो धारणा राखेका थिए ।

क्याम्पसका अध्यक्ष हरीओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पसका प्राध्यापक आशिष पौडेलले गरेका थिए ।