Print

गुणस्तरहिन काममा पूर्वाधार विकास कार्यालय पर्वतको लगाम, संरचना भत्काइयो

११ फागुन, पर्वत । पर्वतको शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि डोजर लगाएर भत्काईएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं ३ शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी रातडाँडा पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगाईएको मेशिनरी पर्खालमा सिमेन्ट बालुवाको मसला नराखी ढुंगामात्रै चिनेर बनाईएको गुनासो आएपछि पुगेको अनुगमन टोलीले डोजर लगाएर भत्काईदिएको विवरण लोकतन्त्र अनलाइनमा लक्ष्मण सापकोटाले लेखेका छन्। २५ मिटर लामो पर्खाल पुणर् रुपमा डोजरले भत्काएर पुनः निर्माण गर्न लगाईएको छ । त्यस्तै सडकका विभिन्न भागमा भरिएको ग्यावियन जाली समेत भत्काउन लगाईएको छ ।

पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारी, फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, इन्जिनियर जीता गिरी सहित पत्रकारहरुको टोली बिहीवार विहान अनुगमनका लागि पुगेको थियो । अनुगमनको क्रममा मसला नराखिकन पर्खाल चिनिएको, मसिना ढुंगा राखेर ग्यावियन जाली भरिएको पाईएपछि पुरै भत्काएर पुनः निर्माण गर्न लगाईएको इन्जिनियर जीता गिरीले जानकारी दिए ।

इन्जिनियर गिरीले ठेकेदारले कार्यालयसँग समन्वय समेत नगरी काम गरेको बताए । कार्यालयलाई जानकारी समेत नदिई गुणस्तरहिन काम गरेको पाईएको भन्दै यस्ता ठेकेदारलाई आवश्यक कारबाहीको दायरा ल्याईनुका साथै मापदण्ड अनुसार काम नभएमा भुक्तानी समेत रोकिने बताए ।

ठेकेदारको लापरबाहीका कारण मापदण्ड विपरित संरचना निर्माण भएपछि स्थानीयवासीले समेत गुनासो गरेका थिए । एक बोरा सिमन्ट बराबर ८ बोरा भन्दा बढि बालुवा राखेर मसला बनाईएका कारण पर्खाल कमजोर भएको गुनासो बढेपछि अनुगमन टोली पुगेको थियो । जुनसुकै पुर्वाधारका काम पनि तोकिएको मापदण्ड र गुणस्तर अनुसार हुनुपर्ने पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताए । मापदण्ड विपरित गरिएको कामको कार्यालयले भुक्तानी समेत नदिने र आगामी दिनमा त्यस्ता ठेकेदारलाई योजनाहरु निर्माणको जिम्मा समेत नदिईने उहाँले बताउनुभयो । उक्त सडक कार्यालयका प्राविधिकहरुको नियमित अनुगमनमा तोकिएको मापदण्ड अनुसार पुर्ननिर्माण गरिने उनको भनाई रहेको छ ।

पुर्वाधार विकास कार्यालयमार्फत भ्याट बाहेक रु।१९ लाख रुपैयाको लागतमा सडक स्तरोन्नतीको काम भैरहेको छ । सडक निर्माणको जिम्मा माई कन्ट्रक्सन प्रालिले लिएको छ । गत पुसमा सम्झौता भएको सडक स्तरोन्नतीको कार्र्य आगामी असार १५ गते सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । सडमा मेशिनरी पर्खाल, ग्यावियन जाली भर्ने, नाली निर्माण, कटिङ लगायतका कामहरु गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

माई कन्ट्रक्सन प्रालिका प्रमुख धनबहादुर थापाले आफु नभएको बेला मजदुरहरुले गुणस्तरहीन काम गरेको आरोप लगाए ।