Print

युवा पलाएनले पर्वतका क्याम्पसहरु रित्तै


१२ फागुन, पर्वत । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते कुश्माको एउटा होटलमा क्याम्पस सञ्चालकहरुको वैठक थियो । वैठकमा पब्लिक क्याम्पस संघका जिल्ला अध्यक्ष गोविन्द पहाडीले एउटा प्रस्तुती राखे । प्रस्तुतीमा उनको निचोड थियो : क्याम्पसहरु मर्ज गर्नुपर्छ । जिल्ला भरका सवै क्याम्पसहरुको अवस्थालाई नजिकबाट हेरेका पहाडीले क्याम्पस सञ्चालनका चुनौतिहरु पेश गरे । उनले आफ्नो प्रस्तुतीमा राखे –‘सदरमुकाम कुश्माका २ वटा क्याम्पसहरु मर्ज गर्दा कुश्माबासीको भावानात्मक एकता हुन्छ ।’

पछिल्लो ५ बर्षको तथ्यांक हेर्ने हो भने जिल्ला भरका क्याम्पसहरुमा प्रत्येक बर्ष विद्यार्थीको संख्या घटिरहेको छ । पहिलो बर्ष भर्ना हुने र अन्तिम बर्ष भर्ना हुनेको संख्या हेर्ने हो भने, त्यो संख्या अझै फरक छ । आधा भन्दा बढि विद्यार्थीहरु अन्तिम बर्षसम्म क्याम्पसमा टिक्दैनन् । क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थी नपाएका पब्लिक क्याम्पसहरु अहिले विद्यार्थी खोज्न भन्दा क्याम्पसलाई मर्ज गर्ने विकल्पमा छन् । जिल्लाको पुरानो क्याम्पस पर्वत बहुमुखी क्याम्पस विगत १ दशक देखि विद्यार्थी अभावमा समस्या झेल्दै आइरहेको छ । उता, ठुलिपोखरीको जनता सुर्देशन बहुमुखी क्याम्पस कार्किनेटाको अन्नपूर्ण बहुमुखी क्याम्पस, लुंखुको धुँवाकोट बहुमुखी क्याम्पस, तिलाहारको नवजागृत बहुमुखी क्याम्पस लगाएतका सवै क्याम्पसहरुमा विद्यार्थीको संख्या बर्षेनी घट्दै गईरहेको छ ।

कक्षा १२ पास गरेपछि अधिकांश युवाहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् । अर्को तर्फ १२ कक्षा सकेर स्नातक तहमा भर्ना भएकाहरु पनि वैदेशिक रोजगारीका लागि विदेशीने गरेका छन् । पछिल्लो १ दशकमा नेपालमा विदेश पलाएनको दर उच्च छ । नेपाल छोड्नेको संख्या अधिक छ । यसले गर्दा नेपालका गाउँ वस्तीहरुमा युवाहरुको संख्या बर्षेनी घट्दै गइरहेको छ । बजार केन्द्रित बसाईले गाउँ रित्तिएका छन् भने, युवा पलाएनले दक्ष जनशक्ति बाहिरिएको छ । यसको स्पष्ट प्रभाव परेको छ, क्याम्पसहरुमा । पहिले सयौको संख्या विद्यार्थी हुने क्याम्पसहरुमा अहिले विद्यार्थी संख्या नगन्य छ । यसले क्याम्पसहरुको खर्च धान्न समस्या सृजना भइरहेको छ ।

सामुदायिक क्याम्पसहरु विद्यार्थीहरुको शुल्कहरुबाट सञ्चालन हुने गर्दछन्, तर विद्यार्थी संख्या नभएपछि धेरै क्याम्पसहरुमा आर्थिक रुपमा ठूलो चुनौति देखिएको छ । यहि परिस्थितीमा कुश्मा दुई क्याम्पसलाई मर्ज गर्ने प्रस्ताव अघि बढिरहेकोछ । २०४८ सालमा स्थापना भएको गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गरेर एउटा मात्र क्याम्पस सञ्चालन गर्ने तयारी भइरहेको छ ।

३२ बर्षको लामो इतिहास बोकेको गुप्तेश्वर बहुमुखी क्याम्पस आफैमा शैक्षिक क्षेत्रको अतुलनीय योगदान पुराएको क्याम्पस हो, तर पछिल्लो समयमा विद्यार्थीको अभाव क्याम्पसले बेहोर्दै आइरहेको छ । उता स्थापना कालको १३ बर्ष पार गरेको शिवालय बहुमुखी क्याम्पसले पनि बर्षनी विद्यार्थीसंख्या गुमाउँदै जाँदा क्याम्पस सञ्चालनमा समस्या सृजना भएको छ ।

जिल्लाका अरु केहि क्याम्पसहरु बन्द प्रायः अवस्थामा छन् । जिल्ला भर बढिमा २ बटा मात्र क्याम्पस सञ्चालन गर्दा पनि विद्यार्थी संख्याको अभाव हुने अवस्था छ, तर अहिले १ दर्जन क्याम्पसहरु सञ्चालनमा छन् । क्याम्पसहरु सञ्चालन गरेर युवाहरुलाई आफ्नै ठाउँमा अध्ययन गर्ने ब्यवस्था मिलाउन समुदायले गरेको यो प्रयास असफल सिद्ध भएको छ ।

युवा पलाएनको असर परेका शैक्षिक संस्थाहरुलाई मर्ज गरेर सञ्चालन गर्ने अभ्यास आफैमा सकारात्मक देखिन्छ, तर देशको युवा पलाएनको यो दर बढ्दै जाँदा मर्ज पछिका क्याम्पसहरु समेत सञ्चालन गर्न गाह्रो हुने देखिन्छ ।