९ माघ, काठमाडौं । जहाजको यात्रा गर्ने समयमा तपाईंको प्रत्यक्ष सम्पर्कमा आउँछन्- पाइलट, विमान परिचारिका र सुरक्षामा खटिएका कर्मचारीहरु । तर, तपाइँलाई थाहा छ ? उनीहरुबाहेक पनि धेरैजनाको मिहेनतले तपाईंको यात्रा सुरक्षित र व्यवस्थित बनाइरहेको हुन्छ ।
उदाहरणका लागि हामी ‘ग्राउन्ड अपरेसन’मा सहभागी कर्मचारीलाई लिनसक्छौं । जसले मिहिन ढंगले यात्रुको सुरक्षा र व्यवस्थापन गरिरहेका हुन्छन् । जुनबेला ‘क्याबिन क्रिउ’ले उडान समयको जिम्मा लिइरहेका हुन्छन्, ‘ग्राउन्ड अपरेसन’का कर्मचारीले भने विमानस्थलका कामको जिम्मा लिन्छन् ।
‘बुध्द एयरको ‘ग्राउन्ड अपरेसन’ विभागले विशेषगरी यात्रु र उनीहरुका सामानसम्बन्धी सेवाको रेखदेख गर्छ,’ विभागका उप-प्रबन्धक रतन राई भन्छन्, ‘हामी तिनै कर्मचारी हाैं, जसले यात्रा सुरु हुँदा एयरपोर्टको टिकट काउन्डरमा टिकट चेक-इन गर्ने समयदेखि तपाई जहाजमा प्रवेश गर्ने बेलासम्मको काम गर्छौ ।’
धेरै जहाज कम्पनीमा यसै विभागले इन्धन भर्ने काम गर्छ । तर, बुद्ध एयरले भने यी कामका लागि अर्कै विभागलाई जिम्मा दिएकाले ‘ग्राउन्ड अपरेसन’ विभाग यात्रु र विमानको सम्भारमा मात्र केन्दित छ ।
यो विभागको काम यात्रुलाई सहजीकरण गर्नु मात्र होइन, जहाजको सम्भारका लागि आवश्यक कार्य गर्नु पनि हो । जहाज अवतरण गरेर यात्रुहरु सुरक्षितरुपमा बाहिर आइसके लगत्तै जहाजका पाङ्ग्रालाई कतैपनि चलमल नगर्ने गरि सुरक्षित रुपमा अड्याइन्छ ।
त्यसपछि ‘ग्राउन्ड पावर युनिट’ले जहाजको उर्जालाई जेनेरेटरमार्फत चार्ज गर्छ । यी सबै काम जहाज ‘टर्मिनल गेट’मा पार्किङ गरिएका बखत गर्नुपर्छ । ‘ग्राउन्ड अपरेसन’ विभागले नै जहाजको सरसफाई र स्वच्छताका लागि पनि काम गर्नुपर्छ । यो विभागले सबै एयर कार्गोलाई जहाजसम्म पुर्याएर व्यवस्थित गर्ने काम पनि गर्छ ।
कम्पनी अन्तर्राष्ट्रिय अन्वेषणहरुलाई पछ्याउँदै आफ्ना कर्मचारीलाई सँधैका लागि तयार बनाउँछ । बिज्ञबाट दिइने यस्ता तालिममा कम्पनीले ठूलो लगानी समेत गर्ने गरेको छ । ‘हामी जस्तोसुकै समस्या र अवस्था बारे तयारी अवस्थामा बसेका हुन्छौ,’ राई भन्छन् ।
‘फ्लाइट अपरेसन’ र ‘इन्जिनियरिङ अपेसन’ विभागहरु सुरक्षामा केन्द्रित हुँदा ‘ग्राउन्ड अपरेसन’ विभागले भने सुरक्षा र गुणस्तरीय सेवाको सन्तुलन गर्नुपर्ने हुन्छ ।
‘सहजता, समयमै उडान र सुरक्षा यी तीन कुरा यात्रुले हामीबाट अपेक्षा गर्ने मुख्य विषय हुन्,’ राई भन्छन्, ‘त्यसैले हामी यी तिनवटा कुरा उनीहरुकै अपेक्षा अनुसार प्रदान गर्न तयार रहनुपर्छ ।’
कर्मचारीहरुलाई फरक क्षमता भएका व्यक्तिहरु जस्तै अपांग, वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकालगायतको हेरचाह गर्ने तालिमसमेत दिइएको हुन्छ ।





प्रतिकृया दिनुहोस्