७ माघ, काठमाडौं । भूकम्पका कारण थला परेको पर्यटन क्षेत्रमा व्यापक सुधार आएको छ । पर्यटकको संख्यामा वृद्धि भएसँगै नियामक निकायहरु पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्केको बताउन थालेका छन् । तर, भारत र चीनबाट भने पर्यटकहरु अझै पनि उल्लेख्य संख्यामा भित्रिएका छैनन् ।
सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० जना पर्यटक नेपाल भित्रिएको देखिएको छ । जुन २०१४ कै हाराहारीको संख्या हो । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना बिदेशी पर्यटकको नेपालमा आगमन भएको थियो ।
संस्कृति पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किएको दावी गर्छन् ।
उनले भने ‘पर्यटकको संख्यालाई नियाल्दा यो क्षेत्र पुरानै अवस्थामा र्फकेको पाएका छौं, अब यसमा खासै चिन्ता गर्नपर्ने अवस्था छैन ।’
भूकम्पका कारण गत वर्ष देशमा आउने पर्यटकको संख्यामा ठूलो कमी आएको थियो । सन् २०१४ को तुलनामा गत वर्ष नेपाल आउने पर्यटकको संख्यामा ३२ प्रतिशतले कमी आउँदै ५ लाख ३८ हजार ९ सय ७० कायम भएको थियो ।
पर्यटन बोर्डका सीइओ दीपक जोशी अहिले पर्यटन क्षेत्रमा सुधार भएको दावी गर्छन् । उनी भन्छन्, ‘पर्यटन क्षेत्र झण्डै पहिलेकै अवस्थामा आइपुगेको छ, निराशाजनक स्थिति छैन ।’
भारतीय र चिनियाँ पर्यटक बढेनन्
उनका अनुसार गत वर्षमा भारतीय र चिनियाँ पर्यटकहरु भने नेपालमा खासै बढ्न सकेनन् । गत वर्ष भारतको अघोषित नाकाबन्दीका कारण भारतप्रति नेपालीहरुको नकारात्मक भावना जागेको भन्दै भारतीय पर्यटक नेपाल आउन डराएका थिए ।
त्यस्तै भूकम्पका कारण नेपालमा आउने भारतीय पर्यटकको संख्यामा पनि कमी आएको जोशीको आँकलन छ ।
चीनतर्फको नाकामा भूकम्पका कारण बिग्रेका सडकमा अझै सुधार आउन सकेको छैन । जसका कारण कोदारी राजमार्ग हुँदै आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको छ ।
नेपालमा भूकम्प आएपछि चीनबाट नेपालतर्फको उडानमा कमी आएको थियो । गत अक्टुबरबाट मात्रै उडानको रेसियो पुरानो अवस्थामै फर्केको छ । उडानमा भएको कमीका कारण पनि चीनबाट आउने पर्यटकको संख्या गत वर्ष कम भएको जोशी बताउँछन् ।
उनले भने, ‘पर्यटन आगमनको संख्या लगभग पुरानै अवस्थामा फर्केको छ, तर भारत र चीनबाट आउने पर्यटकको संख्यामा भने सुधार भएको देखिएन त्यसको सुधारका लागि हामीले प्रयास गर्दैछौ ।’





प्रतिकृया दिनुहोस्