Print

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तिवारी, होला त अव नगर सभा ?


२९ भदौ, पर्वत । जिल्लाको ठुलो नगरपालिका कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्णुप्रसाद तिवारीले सम्हालेका छन् । शुक्रबार देखि तिवारीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । यस अघि नगरपालिकाकै शिक्षा शाखा प्रमुख रहेका तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो ।

असार १० गते हुनुपर्ने नगर सभा जनप्रतिनिधिहरु वीचको विवादका कारण हुन नसकेको नगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चण्डिाका पौडेलको सरुवा भए देखि भदौ १० गते पछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव थियो ।

देशभरका सवै नगरपालिकाहरुले नगर सभा गरे पनि अहिलेसम्म नगरपालिकामा नगर सभा हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तिवारीले लिएसंगै अव नगर सभा हुने अपेक्षा नगरबासीले गरेका छन् । नगर पालिकाको नगर सभा नहुँदा विकास आयोजना मात्र होइन दैनिक प्रशासनीक कामहरु समेत प्रभावित बनेका छन् ।