२६ भदौ, पर्वत । धौलागिरी अस्पताल बागलुङमा सीटी स्क्यान मेसिन (कम्प्युटराइज टोमोग्राफी) जडानको काम भइरहेको छ । अस्पतालका प्रमुख डा. रवीरंजन प्रधानले साता भित्रै सिटि स्क्यानको सेवा अस्पतालमा शुरु हुने जानकारी दिए ।
अघिल्लो आर्थिक बर्षमा सीटी स्क्यान मेसिन जडान गर्ने भनिए पनि प्रक्रिायमा ढिलाई हुँदा हालै मात्र जडानको काम सुरु गरिएको छ ।
करिब ७ करोड रुपैयाँ लागतमा खरिद गरिएको सीटी स्क्यान मेसिन दशैँसम्म जडान गरि सकिने डा प्रधानले बताए ।
‘अहिले मेसिन जडानको काम भइरहेको छ, सम्भवतः दशैँसम्ममा जडान गरि सकिएला’ उनले भने–‘त्यसबाट यहाँका बिरामीहरु थप लाभान्वित हुने छन् ।’
सीटी स्क्यान मेसिन जडान गरिए शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदान गर्न सहज हुनेछ ।
अहिले सीटी स्क्यान जडान नहुँदा महिनामा करिब ६० जना त्यस्ता विरामीलाई पोखरा, काठमाण्डौमा रहेका अस्पतालमा रिफर गरिदै आएको छ ।
‘सीटी स्क्यान जडान भएपछि विभिन्न जटिल प्रकारका रोगको पहिचान र निदान यहिँ हुने छ, यसले अस्पतालमा बिरामीको चाप थप बढाउने छ ।’ उनले भने–‘हालको अनुपातलाई हेर्दा महिनामा ६०७० जना बिरामीहरु थपिनेछन् ।’
बागलुङमा सीटी स्क्यान नहुँदा जटिल प्रकृतिको रोगको निदानको लागि पोखरा, काठमाण्डौ लगायतका ठाउँमा जान बाध्य छन् । सीटी स्क्यान जडान भएमा भने बाहिर जानु पर्ने बाध्यता कम हुने छ ।
अहिले सीटी स्क्यान जडानको लागि पोल राख्ने, तार जडान गर्ने लगायतका कामहरु भइरहेका छन् ।