Print

पर्वतको कुश्मामा पनि विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

२३ भदौ, पर्वत । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन मध्ये पर्वतको सदरमुकाम कुश्मा बजारमा पनि चार्जिङ स्टेशन निर्माण गरेको छ । कुश्मा नगरपालिका वडा न ५ मा रहेको बन्जी साइडमा उक्त स्टेशन जडान गरिएको हो । बन्जि सञ्चालकले जग्गा उपलब्ध गराए पछि उक्त स्थानमा स्टेसन राखिएको छ ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना ठूला कारहरु चार्ज गर्न मिल्ने छन् । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने छ विभिन्न अनलाईनहरुमा समाचार उल्लेख गरिएको छ ।