२२ भदौ, पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहाडवाट खसेको पहिरोले ठुलो नोक्सान पुर्याएपछि अध्ययनको लागि खानी तथा भुगर्भ विभागको टोली आईपुगेको छ ।
खानी तथा भुगर्भ विभाग अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जलजला गाउँपालिका वडा नं ५ कुवापानीको पहाडमा पुगेको हो । विभागका भुगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र आइटी इन्जिनियर इश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोली अध्ययनमा खटिएको हो ।
टोलीले बुधवारदेखिनै पहिरोको चारै क्षेत्रवाट अध्ययन थालेको छ । यो टोलीले केहि दिनसम्म अध्ययन अनुसन्धान गर्ने छ । स्थलगत अध्ययन र ल्याब परिक्षण पछि रिपोर्ट तयार गर्ने भुगर्भविद अनिस खनालले जानकारी दिए । प्रारम्भिक रुपमा हेर्दा पहिरो पहाडवाट छुट्टिएको र पहिरो मुनिको बस्ती परम्परा कालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको देखिन्छ ।
‘बिस्तृत विवरण हामीले अध्ययन र सवै क्षेत्रको अबलोकन पछि दिन सकिन्छ’ उनले भने, भुकम्प लगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।’
लोकतन्त्र अनलाईन लेख्छ-टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पुर्याएका बस्तीहरु स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ ।
कुवापानीबाट खसेको पहिरोले जलजला २ पूणर्गाउँ, मुलघडेरी, नेपानेका सात वटा घर बिस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदो सहितको पहिरोले हालसम्म सात वटा घरपरिवार बिस्थापित भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक अचार्यले जानकारी दिए ।
‘पानी पर्दासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र बिस्थापित हुनुभएको छ’ आचार्यले भने । उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रविन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा रहेका छन् । दुई वटा परिवार काठमाडौ बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै छ ।
पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । माथिको पहाड चिरा(चिरा परेर बसेका कारण पानी परेको समयमा त्यसक्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।




