Print

सातौं पर्वत महोत्सव शुरु, स्वास्थ्य मन्त्री गिरीद्धारा उद्घाटन


११ माघ, पर्वत । गण्डकी प्रदेश स्तरीय सातौं पर्वत महोत्सव बुधवार देखि पर्वत सदरमुकाम कुश्मा बजारमा शुरु भएको छ । महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरु रहेकाले त्यसको समाधानको प्रयासमा आफू लागेको बताएका छन् । मन्त्री गिरी कोहि पनि नागरिक स्वास्थ्य उपचारको अभावमा अकालमा मृत्यु वरण गर्न नपरोस भन्ने तर्फ आफू सचेत रहेका उल्लेख गरे ।

अर्को एक फरक प्रशंगमा मन्त्री गिरीले देशको आर्थिक अवस्थाको सुधार पनि आवश्यक रहेको बताए । देशको आर्थिक अवस्था बिग्रेर ब्याजदरमा भएको भारी बृद्धिका कारण शरीरमा आगो लगाएर नागरिकले आत्महत्याको बाटो रोजेको बताए । उनले ब्यापार घाटा बढ्दै गएको र वैंकिङ ब्याज दरका कारण ब्यवसायी मारमा पर्दै गएको भन्दै सरकारको पहिलो प्राथमिकता आर्थिक अवस्थाको सुधार रहेको कुरा उल्लेख गरे ।

महोत्सव ११ गते देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा संविधान सभा सदस्य अर्जुन जोशी, विकास लम्साल, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, फलेवास नगर प्रमुख गंगा तिवारी, कांग्रेस जिल्ला उप सभापति डा. चूडामीण शर्मा, एमाले जिल्ला अध्यक्ष राजु पौडेल, माओवादी केन्द्र जिल्ला अध्यक्ष सिर्जनशिल कुँवर, स्वतन्त्र पाटीका जिल्ला अध्यक्ष नवराज भण्डारी, राप्रपा नेपालका अध्यक्ष प्रितम गुरुङ, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।