Print

सरकारको प्राथमिकता अर्थतन्त्र सुधार : स्वास्थ्य मन्त्री गिरी


११ माघ, पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले अर्थतन्त्र सुधार वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री गिरीले आर्थिक तरलताका कारण आर्थिक अवस्था समस्यामा रहेको उल्लेख गर्दै वर्तमान सरकारले आर्थिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

सांसद गिरीले देशको आर्थिक अवस्था बिग्रेर ब्याजदरमा भएको भारी बृद्धिका कारण शरीरमा आगो लगाएर नागरिकले आत्महत्याको बाटो रोजेको बताए । उनले ब्यापार घाटा बढ्दै गएको र वैंकिङ ब्याज दरका कारण ब्यवसायी मारमा पर्दै गएको भन्दै सरकारको पहिलो प्राथमिकता आर्थिक अवस्थाको सुधार रहेको कुरा उल्लेख गरे ।

आत्महत्याको बाटो रोज्नु गलत रहेको भन्दै मन्त्री गिरीले सामान्य कृषकहरुलाई भन्दा धेरै समस्या उद्योग ब्यवसायीहरुलाई रहेको तर्क गरे । वैंकिङ ब्याजदरका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेको र ब्यवसायीहरु ब्यवसायबाट पलायन हुने अवस्थामा पुगेको मन्त्री गिरीको भनाई छ ।

मन्त्री भएपछि पहिलो पल्ट गृह जिल्ला पर्वत आइपुगेका गिरीले महोत्सवको उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा पनि धेरै समस्याहरु रहेको भन्दै त्यसको समाधानमा आफू गम्भिर भएको उल्लेख गरे । मन्त्री गिरीले उपचारको अभावमा कोहि पनि नागरिक मर्न नपरोस् भन्ने तर्फ आफू सचेत रहेको जानकारी गराए ।

स्वास्थ्य बिमा मार्फत विरामीको उपचार निशुल्क गर्ने प्रवन्ध मिलाउन सरकार तयार रहेको भन्दै विमा कार्यक्रमका समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

अर्को एक प्रशंगमा गिरीले पर्वत जिल्लामा विगत ५ बर्षमा उल्लेख्य विकास निर्माणका कामहरु भएको भन्दै आगामी ५ बर्षमा अझै धेरै विकास निर्माणका कामहरु हुने बताए । उनले आगामी ५ बर्षमा सवै वडाहरुमा कालोपत्रे सडक पुराउने प्रतिबद्धता समेत ब्यक्त गरे । पर्वत अस्पतालाई सुविधा सम्पन्न गराउने समेत गिरीले प्रतिबद्धता ब्यक्त गरेका छन् ।