Print

मध्यपहाडी लोकमार्गमा रुकुमबाट बागलुङ-पर्वत हुँदै काठमाण्डौं बस सेवा शुरु

१२ पौष, पर्वत । पुष्पलाल राजमार्गको रुपमा परिचित मध्यपहाडी लोकमार्गको निर्माण कार्य धमाधम भईरहेको छ । पश्चिमी खण्ड अन्तर्गत जाजरकोट देखि बागलुङ खण्डको सवै खण्डको ट्राक खनिएसंगै यो क्षेत्रको यातायात सहज भएको छ । राष्ट्रिय गौरबको आयोजनको रुपमा निर्माण कार्य भईरहेको यो सडकले पछिल्लो समय कर्णाली प्रदेशका पहाडी जिल्लालाई केन्द्रिय राजधानीसंग जोड्न सहज भएको छ । निर्माणकै चरणमा रहेको यो लोकमार्ग पूर्वको पाँचथरको चियोभञ्जाङ देखि मध्यपहाडका २ दर्जन बढि जिल्लाहरु हूँदै पश्चिम नेपालको वैतडीको झुलाघाटसम्मको यात्रा तय गर्छ ।

पछिल्लो समय बागलुङ देखि रुकुम खण्डको सडक सञ्जालको अवस्थामा सुधार आएसंगै रुकुम पूश्चिम र रुकुम पूर्वका सदरमुकामहरुबाट राजधानी काठमाण्डौंका लागि सिधा बस सेवा सञ्चालन हुन थालेका छन् । रुकुम पूर्वको सदरमुकाम मुसिकोट र रुकुम पूश्चिमको रुकुम कोटबाट मध्यपहाडी लोकमार्ग हुँदै बस सेवा सञ्चालनमा आउने गरेका छन् । रुकुमबाट छुट्ने सवारीहरु बागलुङको बुर्तिवाङ, बागलुङ बजार, कुश्मा बजार हुँदै पोखराबाट अघि बढ्ने गरेका छन् ।

यस अघि रुकुम पश्चिम सदरमुकाम मुसिकोट र रुकुमकोटबाट छुट्ने सवारीहरु पूर्व पश्चिम राजमार्ग हँुदै राजधानी जाने गरेका थिए । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि रुकुम क्षेत्रका स्थानीयले झण्डै ३ देखि ४ घण्टाको समय वचतमा राजधानी काठमाण्डौं जान पाएका छन् । मध्यपहाडी लोकमार्गको अझै केहि खण्डहरुमा कालोपत्रेको काम बाँकी रहेको छ । सडकको सवै खण्ड कालोपत्रे भएपछि भने यो अवधिमा अझै बचत हुने छ । रुकुम र जाजरकोट क्षेत्रका स्थानीयहरु छोटो दुरी र थोरै अवधिमै राजधानी काठमाण्डौं मध्यपहाडी सडक हुँदै पुग्न पाउनेछन् ।