१२ पौष, पर्वत । भ्रमण गर्ने रहर बोक्नेहरुका लागि मध्यपहाडी लोकमार्ग रोमाञ्चक र एड्भेन्चेर सडक बनेको छ । निर्माणधिन लोकमार्ग सडक पूर्व देखि पश्चिमका पहाडी जिल्ला हँुदै जान्छ । लोकमार्गको रुपमा सन् २०११ बाट निर्माण कार्य शुरु भएको यो सडकको पर्वत देखि पश्चिम भागको जाजरकोटसम्मको सवै खण्डको ट्रायक खन्ने काम सकिएको छ । निर्माणको चरणमा रहेको यो भागमा झण्डै ८० प्रतिशत बढि खण्डमा कालोपत्रे समेत भएको छ । यात्रामा रमाउनेहरु पर्वत जिल्लाबाट यो खण्डको यात्रा गर्दा निकै मनमोहक दृश्यहरु सहितको रमाइलो यात्रामा निस्कन सक्छन् ।
पर्वतको कुश्माबाट यात्रा शुरु गर्नेहरु बागलुङ बजारबाट अगाडि बढ्न पाउँछन् । बागलुङको चर्चित स्थल घोडाबाँधेको मनमोहन दृश्य र ऐतिहासिक किंबदन्तीमा यात्रुहरु केहि बेर विश्रामको अनुभूति गर्ने ठाउँ छ । २०६८ सालमा निर्माण भएको घोडाबाँधेको भ्यूटावरबाट धौलागिरी, माच्छापुछ्रे, अन्नपूर्णका मनमोहक दृश्यअवलोकन गर्न सकिन्छ । यो क्षेत्रबाट अगाडि बढ्दै जाँदा बागलुङको अर्को ऐतिहासिक बजार गल्कोट बजार पुगिन्छ । गल्कोटे राजाको दरवार र गाईघाट झरनामा केहि बेर रमाउने यात्रुहरुले यो खण्डको यात्रामा अर्को रमाइलो स्थलको अवलोकन गर्न पाउनेछन् । बडिगाँड खोलाका असला मान्छा देखि स्थानीय परिकारका खानाहरु यो क्षेत्रको विशेषता हुन् ।
गल्कोटबाट अगाडि बढ्दै जाँदा भिमगिठे हूँदै बुर्तिवाङ बजार पुग्न सकिन्छ । बुर्तिवाङ बागलुङ जिल्लाको अर्को ठूलो बजार क्षेत्र हो । ढोरपाटनको सिमानासंग रहेको उक्त क्षेत्रमा ठूलो बजार रहेको छ । बजारी क्षेत्र बुर्तिबाङ छोडेर अगाडि बढेका यात्रुहरु जब रुकुम जिल्लामा प्रवेश गर्छन् । पातिहाल्नेको ३२ सय मिटरको उचाईमा पुग्दा यो खण्डको यात्रामा यात्रुहरु सवै भन्दा रमाउने ठाउँमा पुग्नेछन् । उच्च पहाडी क्षेत्रको यो स्थानले हिमाली क्षेत्रको मौसममको झल्को दिने गर्छ । यो क्षेत्र छोड्ने केहि ओरालो झरेपछि भने रुकुम पूर्वको लुकुम गाउँ पुगिन्छ । होम स्टे सेवा सहितको जनजाति बस्तीको रमाइलो स्थानको अवलोकनले जो कोहिलाई पनि ग्रामीण यात्रामा मोहित पार्ने गर्छ ।
रुकुम पूर्वमा पर्ने लुकुम गाउँ पछिको यात्रा भने रुकुम कोटका लागि तय हुन्छ । रुकुम कोटको प्रसिद्ध कमल दहमा नरमाउने यात्रु कोहि हुन्नन् । ताल सभ्यतामा निकै प्रसिद्ध पहाडी क्षेत्रको यो दहको आफ्नै विशेषता रहेको छ । समुन्द्रि सतहदेखि एक हजार पाँच सय ८१ मिटर उचाइमा रहेको यो ताल एक हजार नौ सय ५० बर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो दह करिब ३५ मिटर गहिरो छ । जैविक विविधताका दृष्ट्रिकोणले महत्वपूर्ण यो तालमा जेठदेखि कार्तिक महिनासम्म कमलको फूलले ढाकेको हुन्छ । रुक्मिणी तालको नामले चिनिने यो तालमा कमल पाइने भएकाले पछिल्लो समय कमल दह (ताल) को नामले चिनिने गरिन्छ ।
रुकुमकोटको रमणीय बजार समेतको अवलोकन गरी यात्र पश्चिम नेपाल तर्फ अगाडि बढ्दै जाँदा साँख गाउँ पुगिन्छ । वीचमा ताल वरीपरी गाउँ रहेको यो क्षेत्रलाई पहाडको टाकुराबाट हेर्दा स्वर्गतुल्य अनुभूति यात्रुहरुले गर्न पाउँछन् । यस पछिको यात्रा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको लागि तय हुन्छ । मुसिकोट आफैमय ऐतिहासिक स्थल हो । रुकुम २ जिल्लामा विभाजन नहुँदैको सदरमुकाम जिल्ला विभाजन पछि आधा जिल्लाको मात्र सदरमुकाम बनेको छ । सुविधासम्पन्न मुसिकोट बजारमा मुसिकोट राजाको दरवारले एतिहासिक महत्व झल्काउँछ ।
मुसिकोट छोडेपछि भने भेरी नदीको बहावसंगै यात्रा शुरु हुन्छ । भेरी नदीको तिरै तिरको यात्रा जाजरकोट र रुकुम पश्चिमको सिम्लेसम्म पुगिन्छ । यहाँबाट डोल्पा जिल्लाको लागि सडक बन्दै गरेको सडक छोडेर यात्रा जाजरकोटको लागि तय हुँन्छ । रुकुम जिल्ला छोडेपछि जागरकोटको खलंगा सडक पुग्छ । खलंगा पनि जाजरकोटे राजाको पाला देखिनै चर्चित र रमणीय स्थल हो । मध्यपहाडी लोकमार्गको बाँकी खण्डको काम हुन अझै बाँकी छ । बाँकी खण्डको काम सकिएपछि भने जाजरकोट देखि यात्रा अझै अघि बढेर दैलेख हुँदै अछाम, डोटीबाट वैतडीसम्म पुग्छ ।
अर्थ वीट साप्ताहिकबाट साभार




