१२ पौष, पर्वत । जिल्लाको आर्थरमा पुग्दा बाक्ला घरहरु देखिन्थे । बाक्ला घरहरुको आगँनीमा पुग्दा भने ति घरहरुमा मानिस थिएनन् । घरमा लेउ पलाएका थिए, झार पलाएका थिए । प्लाष्टिकले ओत दिएर घर अडाइएको थियो । घरहरुमा भेटिएका केहि थान मानिसहरु पनि उमेरले जेष्ठ नागरिकहरु नै थिए । रित्तिएका घरहरुका खेतबारी पनि बाँझा थिए । अगेनीमा ऐजैरु पलाएको थियो । पछिल्लो आम निर्वाचनमा कुल मतको ४१ प्रतिशत मत मात्र खसेको आर्थर पर्यटकीय गाउँ भने हो । पञ्चासेको फेदीमा अवस्थित गाउँमा गुरुङ, बाह्मण, क्षत्री र दलित समुदायको मिश्रित बसाई छ । गाउँमा गुरुङ समुदायको अधिकांश हिस्सा गाउँमा छैन् । नजिकैको शहर, पोखरामा उनीहरु बस्छन् । चाडपर्व र बेला मौकामा मात्र गाउँ फर्कने मानिसहरुका कारण गाउँमा चहलपहल हुन कुनै विशेष दिन पर्न पर्छ ।
गाउँ घर रित्तिदै जाने शिलसिला आर्थरमा मात्र होइन जिल्लाका अधिकांश वस्तीहरुको यो साझा समस्या हो । जिल्लाको दक्षिणी क्षेत्रका वडाहरुमा बर्षनी सयौ परिवारले गाउँ छोड्ने गरेका छन् । गाउँमा उत्पादनमुखी काममा लाग्नु भन्दा घरमुलीको जागिरको पैसाले शहरको बसाईमा रमाउनेको संख्या अधिक देखिन्छ ।
उता, शिक्षा र स्वास्थ्य सेवा गाउँ घरमा उपयुक्त नपाएका कारण पनि ग्रामीण समुदायको बसाई रित्तिदै गएको देखिन्छ । शहर केन्द्रित बसाई पछिल्लो २ दशक देखि बढेर गएको हो । ५० को दशकमा देशमा शुरु भएको शसस्त्र गृह युद्धले धेरै गाउँका मानिसहरु सदरमुकाम र बजारी क्षेत्रमा झरे । युद्ध सकिएको ६० को दशकमा यो क्रम रोकिने विश्वास थियो, तर बसाईसराई रोकिएन् ।
पछिल्लो राजनैतिक मुद्धा पनि बसाईसराई रोक्नुपर्छ भन्ने भएको छ । निर्वाचनको बेलामा पर्वत जिल्लाका प्रतिनिधि सभाका सांसद पदम गिरीले पनि गाउँको बसाईसराई रोक्ने योजना सार्वजनिक गरेका थिए । उनले गाउँमा मोटरबाटो निर्माण भएको, घर घरमा खानेपानी र अन्य पूर्वाधार बन्दै गरेको भए पनि गाउँका वस्ती रित्तिएकोमा चिन्ता ब्यक्त गरेका थिए । वस्ती विस्थापनलाई रोक्न उनले गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा गाउँमा प्रदान गर्ने वातावरण मिलाउन आफूले पहल गर्ने कुरा उल्लेख गरेका थिए ।
स्थानीय तहहरुले पनि गाउँ वस्ती रित्तिन नदिन कुनै योजनाहरु निर्माण गरेका छैनन् । उत्पादनमा लाग्नु भन्दा ब्यापार र जागिरमा लाग्ने पछिल्लो परिपाटीका कारण पनि अधिकांश जग्गाहरु अहिले बाँझो पल्टिएका छन् । बाँझो जमिन राख्नेलाई कारबाही गर्ने सरकारी नीति पनि सफल हुन सकेको छैन् । विकास निर्माणको लागि सरकारले मोटो रकम गाउँका वस्तीहरुमा खर्चिने तर तिनै बस्तीहरु रित्तिनेक्रम बर्षेनी बढेर गएको हो ।