३० जेठ, पर्वत । प्रतिनिधि सभाको आजको वैठकमा सांसद पदम गिरीले सरकारको तिव्र आलोचना गरेका छन् । वर्तमान सरकारले समयमा मल खरिद गरेर किसानलाई वितरण गर्न नसकेको, विद्यार्थीलाई किताव उपलब्ध गराउन नसकेको भन्दै उनले सरकार इतिहासकै असफल सरकार भएको बताएका हुन् ।

सांसद गिरीले संसद वैठकको शुन्य समयमा बोल्दै केहि महिना पछि अस्पतालमा विरामीले औषधि पनि नपाउने दावी गरे । गिरीले सरकारलाई कटाक्ष गर्दै भने– ‘किसानहरुले मल नपाएर खेतमा आलीमा धुरुधुरु रोएर बसेका छन्,’ उनले वर्तमान आर्थिक अवस्थाका कारण सरकार औषधि पनि किन्न नसक्ने अवस्थामा पुग्न लागेको समेत बताए ।
विगतको सरकारले भारतसंग जि टु जि गरेर मल खरिद गर्ने प्रक्रिया शुरु गरे पनि त्यो प्रक्रिया यो सरकारले लत्याएको गिरीको भनाई छ । जनताको आँखामा छारो हाल्नका लागि कृषि मन्त्री मल खरिद गर्न भारत भ्रमणमा गएको टिप्पणी गरे ।
उनले मल समयमा उपलब्ध गराउने हो भने कृषकको आँखामा बगेको आँशुले यो सरकारलाई बगाउने दावी गरे । उनले मल नपाए पछि देश भरीका कृषकहरु हँसिया, हलो र जुवा बोकेर सडकमा आउने चेतावनी समेत दिए ।




