Print

पातिचौर-बाजुङ-क्याङ-नागी सडक कालोपत्रेको लागि बजेट विनियोजन

३० जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा ५ बाजुङको पातिचौर बजार देखि बाजुङ हुँदै क्याङ नागी जोड्ने सडक कालोपत्रेको काम यसै बर्ष देखि हुने भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रेको लागि २ बर्ष अघि निर्णय भएको सडकको कालोपत्रेको लागि प्रक्रिया शुरु भएको हो ।

ग्रामीण पूर्वाधार विभाग मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको कार्यालय मार्फत उक्त सडकको कालोपत्रेको लागि प्रारम्भिक वातावरणीय परिक्षणको काम केहि महिना अघि सम्पन्न भएको थियो । सडक कालोपत्रेका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन भएको छ । प्रदेश सरकार मार्फत सडक आयोजनाले कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक बर्षमा टेण्डर आब्हान भई सडक कालोपत्रेको चरणमा जाने संघीय सांसद पदम गिरीले जानकारी दिए ।

सडक कालोपत्रे गर्नका लागि यस अघि नै आरसिआइपी कार्यक्रम मार्फत निर्णय भइसेकेको थियो । जिल्लाका अन्य ७ वटा सडकहरुसंगै यो सडक पनि निर्माणको लागि कार्यक्रममा निर्णय भएको हो ।

यस बाहेक मिलन चोक लेकफाँट साजिला नागी सडकको पनि निर्माण कार्यको चरण अघि बढेको छ । डिपिआर कार्य सकिएको उक्त सडकको प्रारम्भिक वातावरणीय परिक्षण लगतै ठेक्का प्रक्रियामा जाने आयोजनाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पातिचौर-बाजुङ-क्याङ सडक कालोपत्रेको प्रक्रिया शुरु

प्राविधिक टोली सहित सांसद गिरी पातिचौर–बाजुङ–क्याङ सडकमा, कालोपत्रेको प्रक्रिया शुरु