Print

डिजिटल माध्यमबाट पार्टीका विचार जनतामाझ पुर्‍याउदै पर्वत काँग्रेस

१० मंसीर, पर्वत । नेपाली काँग्रेस पर्वतले पार्टीलाई सूचना तथा प्रविधिसँग जोड्दै आफ्ना विचार, नीति र कार्यक्रम डिजिटल माध्यमबाट जनतामाझ पुर्‍याउने अभियान थालेको छ । अभियानअन्तर्गत जिल्लाका तीन स्थानीय तहका पार्टी कार्यकर्ता तथा नेताहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली काँग्रेस पर्वतले शुक्रबार कुश्मा र फलेवास नगरपालिकामा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार जलजला गाउँपालिकामा कार्यक्रम आयोजना गरिने जिल्ला सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।

कुश्मा र फलेवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रेनुका काउचाले डिजिटल माध्यमबाट पार्टीका विचार र गतिविधि जनतामाझ पुर्‍याउन सबै कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध फैलाइने भ्रमपूर्ण सूचनाको तथ्यमा आधारित भएर खण्डन गर्नुपर्नेमा जोड दिनुभयो । ‘पार्टीले पहिलोपटक डिजिटल माध्यमबाट आफ्ना विचार तथा कार्यक्रम जनतासम्म पुर्‍याउने प्रयास गरेको छ । हामीले आफ्नो इतिहास नयाँ पुस्तालाई बुझाउनुपर्छ । पार्टीभित्रका कमी–कमजोरी सुधार गर्दै जनताको हितमा काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेलाले पार्टीको संगठन सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले पार्टीका विचार र गतिविधिलाई सामाजिक सञ्जालमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो । सभापति जोशीले पार्टीको जिम्मेवारीमा रहेर पार्टीकै विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिने तथा विपक्षीको मनोबल बढाउने गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो । पार्टीका गतिविधिप्रति असहमति भए पार्टी छाड्न सकिने तर पार्टीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिन नहुने उहाँको भनाइ थियो ।

पार्टी संगठनभन्दा बाहिर रहेर गतिविधि गरिरहेका नेता तथा कार्यकर्तालाई पनि समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले काँग्रेसभित्रको आन्तरिक विवादले समग्र देशको लोकतान्त्रिक अभ्यासमा असर पार्न सक्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला पदाधिकारी, महाधिवेशन प्रतिनिधि, पालिका कार्यसमितिका पदाधिकारी तथा वडा सभापतिहरूको सहभागिता थियो । फलेवासमा नगर सभापति ओम शर्मा गौडेल र कुश्मामा नगर सभापति सुरेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।