Print

पर्वतको स्थानीय तह निर्वाचन २०७४ लाई फर्केर हेर्दा…

१५ चैत, पर्वत । स्थानीय तहको दोस्रो पटक हुने निर्वाचनको मिति नजिकिदै गएको छ । बाँकी ढेड महिना भित्र स्थानीय तहको दोस्रो निर्वाचन हुनेछ । सरकारले आगामी वैशाख ३० गतेका लागि देश भर एकै पटक स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सवै तयारी अघि बढाईरहेको छ ।

दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको अवस्थाको चित्रण पूर्व पहिलो पटक भएको निर्वाचनको समिक्षा गर्नसकिन्छ । पर्वत जिल्लामा तत्कालीन अवस्थामा एमाले, कांग्रेस र माओवादी केन्द्रका वीचमा नै प्रतिस्पर्धा भएको थियो । सवै जसो वडा र पालिकाहरुमा गठबन्धन विना नै ३ वटा दलहरु निर्वाचनमा होमिएका थिए । एक्ला एक्लै लडेको उक्त निर्वाचनमा नेकपा एमाले पहिलो दल,कांग्रेस दोस्रो दल र माओवादी तेस्रो स्थानमा घुम्चिएको थियो ।

निर्वाचनमा प्राप्त मतपरिणामले पनि सोहि कुराको संकेत गर्दछ । जिल्ला भर ६१ वडा र ७ पालिकाहरुको निर्वाचनको मतपरिणामको विश्लेषण यसरी गर्न सकिन्छ ।

४ पालिका एमालेको कब्जामा

७ स्थानीय तहहरु मध्ये नेकपा एमालेले ४ वटा स्थानीय तहमा विजयी हासिल गरेको थियो । जिल्लाको २ नगरपालिका मध्ये फलेवास नगरपालिका र ५ गाउँपालिका मध्ये मोदी गाउँपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिकामा एमालेले विजयी हासिल गरेको थियो ।

नेकपा एमालेले फलेवास नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ११ वडा मध्ये ९ वटा वडामा विजयी हासिल गरेको थियो । मोदी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ८ वडाहरु मध्ये ७ वटा वडामा विजयी हासिल गरेको थियो ।

उता, महाशिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ६ वडा मध्ये ५ वटा वडामा विजयी हासिल गरेको थियो । विहादी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ७ वडा मध्ये अल्पमत वडाहरु २ वडा मात्र निर्वाचनमा विजयी हासिल गरेको थियो ।

३ पालिका कांग्रेसको कब्जामा

स्थानीय तहको निर्वाचन २०७४ फर्केर हेर्दा जिल्लाका ३ पालिकाहरुमा नेपाली कांग्रेसले जीत निकाल्न सफल भएको थियो । जिल्लाको ठूलो र पुरानो नगरपालिका कुश्मा नगरपालिका, जलजला गाउँपालिका र पैयू गाउँपालिकामा नेपाली कांग्रेसले जीत निकाल्न सफल भएको थियो ।

कुश्मा नगरपालिकामा प्रमुख र उपप्रमुख सहित अल्पमतका वडाहरुमा कांग्रेसले जितेको थियो । १४ वडा वडाहरु मध्ये ५ वटा वडाहरुमा मात्र कांग्रेसले जितेको थियो भने जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ८ वडाहरु मध्ये ४ वटा वडाहरुमा कांग्रेसले जितेको थियो ।

पैयू गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडाहरुमा बिजयी हासिल गरेको थियो ।

३७ वडामा एमाले, २० वडामा कांग्रेस र ४ वडामा माओवादी

जिल्लाका ६१ वडाहरु मध्ये नेकपा एमालेले ३७ वडाहरुमा वडाअध्यक्षमा विजयी हासिल गरेको थियो । २० वडाहरुमा कांग्रेस र ४ वडाहरुमा वडाअध्यक्ष माओवादीले जितेको थियो । एमालेले जितेको ३७ वडाअध्यक्षहरु मध्ये १ जना वडा अध्यक्ष अहिले समाजवादी पाटीमा लागेका छन् ।

कतिपय वडाहरुमा वडा अध्यक्ष बाहेक सदस्यहरु अरु पाटीले पनि जित निकाल्न सफल भएका छन् । जिल्लाको कुश्मा १, कुश्मा ७, कुश्मा १२ मा वडाअध्यक्ष एमालेले जिते पनि सदस्यहरु मा मिश्रित परिणाम निस्केको छ । कुश्मा २ मा नेपाली कांग्रेसले जिते पनि सदस्यहमा मिश्रित परिणाम आएको छ । फलेवासको २ नम्बर वडामा एमालेले जिते पनि सदस्यहरुमा मिश्रित परिणाम आयो । जिल्ला भरका केहि वडाहरुमा मिश्रित देखिए पनि अधिकांशमा भने प्यानल नै विजयी भएको थियो ।

सवै भन्दा धेरै मतान्तरमा वडा अध्यक्ष जित्ने लामिछाने

जिल्ला भर भएको निर्वाचनमा सवै भन्दा धेरै मतान्तरले मोदी ६ मा एमालेका उमेदवार बिमल लामिछानले वडाअध्यक्षमा विजयी हासिल गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धीलाई ७३८ मतान्तरले जितेका थिए । कुल खसेको ६६ प्रतिशत मत ल्याएर लामिछानेले वडा अध्यक्ष जितेका थिए । सर्वाधिक मतान्तरमा वडअध्यक्ष जित्ने लामिछाने पर्वत जिल्लाका एक मात्र वडा अध्यक्ष हुन् ।

लामिछानले १२४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ठक्करप्रसाद शर्माले ५११ मत ल्याएका थिए । लामिछाने मोदी गाउँपालिकाका प्रवक्ता समेत हुन् ।
कुश्मा ४ की वडाअध्यक्ष मिनाकुमारी कर्माचार्यले भने कुल खसेको सर्वाधिक बढि प्रतिशत मत ल्याइन उनले प्रतिस्पर्धीलाई ४५६ मतले जितेकी थिइन् । कांग्रेसकी कमाचार्यले ६७२ ल्याउँदा एमालेका शिवलाल सार्कीले २१६ मत ल्याएका थिए । कुल खसेको मत मध्ये सर्वाधिक बढि प्रतिशत मत ल्याउनेमा कुश्मा ४ की वडा अध्यक्ष मिनाकुमारी कर्माचार्य (७५ प्रतिशत), दोस्रो अत्याधिक मत ल्याउनेमा फलेवास ५ खानीगाउँका दिपक पौडेल (६९ प्रतिशत) रहेका छन् ।

कम मतान्तरमा वडा अध्यक्ष जिते कुँवरले, अदालतबाट पनि सफाए

जिल्लाको विहादी गाउँपालिका वडा न २ बर्राचौरमा सवै भन्दा कम मतान्तरले एमालेका वडाअध्यक्षले निर्वाचन जितेका थिए । प्रतिस्पर्धीलाई ६ मतले हराएका थिए । एमालेका ओम कुँवर ४०७ मत ल्याउँदा कांग्रेसका गोविन्द प्रसाद पाध्याले ४०१ मत ल्याएका थिए । मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेका पाध्याको मुद्धा उपर पुनरावेदन अदालतले कुँवरकै पक्षमा फैसला गर्दै मत गणना पुनः गर्न नपर्ने निर्णय झण्डै ४ बर्ष पछि सुनाएको थियो ।

पालिका अध्यक्षमा धेरै मतान्तर पौडेलको

स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लामा ७ पालिकाहरु मध्ये प्रमुख पदमा निर्वाचितहरु मतान्तरको तुलना गर्दा धेरै मतान्तरण मोदी गाउँपालिकाका अध्यक्षको रहेको थियो । एमालेका प्रेम पौडेल ५६४३ मत ल्याउँदा कांग्रेसका विश्व प्रकास प्रसाईले ३८१९ र माओवादीका मनबहादुर पौडेल ७५० मत ल्याएका थिए । पौडेलले निकटम प्रतिस्पर्धीलाई १८२४ मतले पराजीत गरेका थिए ।

यसैगरी दोस्रो धेरै मतान्तरमा पराजीत गर्नेमा कांग्रेसका खगेन्द्र तिवारी छन् । पैयू गाउँपालिका तिवारीले ३४३१ ल्याउँदा एमालेका मित्रलाल बस्यालले २४५४ मत र माओवादीका पुन्यप्रसाद पाध्या ४१८ मत ल्याएका थिए । तिवारीले निकटम प्रतिस्पर्धीलाई ९७७ मतले हराएका थिए । यसैगरी कुश्मा नगरपालिकामा काग्रेसका रामचन्द्र जोशीले ८०५७ मत ल्याउँदा एमालेका मेघनाथ सुवेदीले ७२३९ मत र माओवादीका शंकर गिरीले ११६३ मत ल्याएका थिए । जोशीले निकटतम प्रतिस्पर्धीलाई ८१८ मतले हराएका थिए । उता, जलजलामा कांग्रेसका यामबहादुर मल्लले ३७२३ मत ल्याउँदा एमालेका लालबहादुर अधिकारीले ३०७८ र माओवादी केन्द्रका बाबुराम कार्कीले १९२१ मत ल्याए । मल्लले ६४५ मतान्तरले विजयी हासिल गरेका थिए ।

महाशिलामा एमालेका राजु पौडेलले २४५३ मत ल्याउँदा कांग्रेसका कृष्ण गुरुङले २०१० मत र माओवादी केन्द्रका रुपनारायण उपाध्यायले १७० मत ल्याएका थिए । पौडेलले ४४३ मतले जित निकालेका थिए । जिल्लाको फलेवास नगरपालिकामा एमालेका पदमपाणी शर्माले ६१०३ मत ल्याउँदा कांग्रेसका गंगाधर तिवारी ५७५५ मत र माओवादीका मोती शर्मा रेग्मीले ४१४ मत ल्याएका थिए । शर्माले ३४८ मतले विजयी हासिल गरेका थिए ।

उता, विहादी गाउँपालिकामा एमालेका कमल भुषालले २४२० मत,कांग्रेसका प्रविन गुरुङले २२१७ मत र माओवादी केन्द्रका कृष्णप्रसाद शर्माले १०५८ मत ल्याएका थिए । भुषालले निकटम प्रतिस्पर्धीलाई २०३ मतले हराएका थिए ।

निर्वाचनमा कुल ६८ हजार ३ सय ३१ जना सहभागी भएका थिए । कुल मतदाता ९९ हजार २ सय ४३ जना रहेकामा कुल संख्याको ६९ दशमलब ८६ प्रतिशत संख्या निर्वाचनमा सहभागी भएर मतदान गरेका थिए । निर्वाचनमा कुल ०.८ प्रतिशत मत बदर भएको थियो भने सवैभन्दा धेरै बदर मत महाशिलामा १ दशमलब ४० र कम बदर मत जलजलामा ०.२२ मत बदर भएको थियो । यसैगरी सवैभन्दा बढि जलजलामा ७४.४४ प्रतिशत मत बसेको थियो । भने कम मत महाशिलामा ६७.०१ प्रतिशत मत खसेको थियो ।

अर्थ वीट साप्ताहिकमा खबर छ ।