Print

पातिचौर र डिमुवा बजारमा सिसिक्यामरा जडान

२६ फागुन, पर्वत । जिल्लाको मोदी गाउँपालिका स्थित पातिचौर बजार र डिमुवा बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिएको छ । बजार क्षेत्रको शान्ति सुरक्षालाई नियन्त्रण गर्नका लागि मोदी गाउँपालिकाले बजार क्षेत्रमा सिसिक्यामराको जडान गरेको हो । मोदी गाउँपालिकाको मुख्य बजार क्षेत्र डिमुवा र पातिचौर बजार पर्दछन् ।

मानिसको बाक्लो उपस्थिती हुने उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई नियमन गर्नका लागि सिसिक्यामराको जडान गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । गाउँपालिकाको सहयोग उक्त सिसिक्यामराहरु जडान भएपछि स्थानीय प्रशासनलाई अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुराउने विश्वास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले ब्यक्त गरे ।

गाउँपालिकाका सुचना प्रविधि अधिकृत दिपक तिमिल्सीनाका अनुसार बजारका मुख्य मुख्य क्षेत्रमा क्यामराको जडान गरिएको छ । प्राविधिक रुपमा समस्या नआउने गरी जडान गरिएका क्यामराहरुको नियन्त्रण र परिचालनको लागि गाउँपालिका र स्थानीय प्रहरी प्रशासनको सहयोग लिइनेछ ।

क्यामरासंगै डिमुवा बजार क्षेत्रमा केहि समयमा सोलार बत्ति समेतको जडान हुँदैछ । यसले बजार क्षेत्रमा शान्ति सुब्यवस्था कायम गर्न सहयोग पुराउनेछ ।