२९ साउन, पर्वत । जिल्लामा कोभिसिल्ड खोप लगाएका जेष्ठ नगारिकहरुका लागि दोस्रो डोजको खोप लगाउने अभियान शुरु भएको छ । ४ महिना अघि पहिलो चरणको खोप लगाएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी कोभिसिल्डको ठाउँमा अस्ट्राजोन नामक खोप लगाउने अभियान शुरु भएको हो । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ६१ वटै वडामा उक्त खोप लगाउने अभियान शुरु भएको छ ।

सरकारले कोभिसिल्डको दोस्रो खोपको ब्यवस्था गर्न नसक्दा सोहि कम्पनीको अस्ट्राजोन नामक खोप लगाउने गरी ब्यवस्थापन गरेको हो । तर, जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भने स्वास्थ्यकर्मीको लापरवाहीका कारण भेरोसिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई पनि अस्ट्राजोनको खोप लगाइएको छ । दुर्लुङकी ६४ बर्षिय इश्वरी कुमारी गिरीलाई स्वास्थ्यकर्मीले भेरोसिल्डको पहिलो मात्रा खोप लगाएकोमा दोस्रो डोज अस्ट्राजोनको खोप लगाईदिएका छन् ।
फरक कम्पनीका खोपहरुको काम गर्ने मात्रा र अवस्था फरक हुने भएकाले विश्वब्यापी मान्यता पहिलो र दोस्रो खोप एउटै कम्पनीको लगाउनु पर्ने भए पनि स्वास्थ्यकर्मीले फरक फरक कम्पनीको खोप लगाइदिएका हुन् । खोप कार्डमा पहिलो डोज भेरोसिल लेखिएको भए पनि त्यो नै नहेरी दोस्रो डोज अस्ट्राजोन लगाउनु स्वास्थ्यकर्मीको गल्ती भएको कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले बताए । फरक फरक डोज लगाउँदैमा ठूलो असर नै नगर्ने भए पनि अहिलेसम्मको मान्यता एउटै कम्पनीको खोप लगाउनुपर्ने रहेको पर्वत अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेल बताउँछन् ।
दुई कम्पनीको खोप लगाउँदा शरीरमा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने अध्ययन नै नभएका कारण यो विषयमा वैज्ञानिक आधार केहि नभएको डा. पौडेलको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले स्वास्थ्यकर्मी सवैले जिम्मेवार भएर सरकारले सञ्चालन गरेको खोप कार्यक्रमलाई सफल बनाउनुपर्ने धारणा राखिन् । प्रशिक्षण लिएका स्वास्थ्यकर्मीले लापरवाही गर्नु दुःखत रहेको प्रजिअ पाण्डेको भनाई छ ।




