२८ साउन, पर्वत । जिल्लामा यति बेला पूर्वाधार निर्माणको काम तिव्र गतिमा भइरहेको छ । पछिल्लो आम निर्वाचनमा जनप्रतिनिधिहरुले गरेका प्रतिबद्धता देखिने गरी पूर्वाधार निर्माणको क्षेत्रमा प्रस्तुत भएका छन् । विगत लामो समयसम्म कच्चि रहेका अधिकांश सडकहरु कालोपत्रेको चरणमा छन् । ठूला खोलाहरुमा मोटरेवल पुल निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । देशको चौथो सानो जिल्ला भएर पनि विकासको सुचांकमा पछि परेको पर्वत जिल्लालाई विकासको गतिमा हिडाउने कार्य सरकारले गरिरहेको छ ।

मुख्य गरी जिल्लाका उत्तर देखि दक्षिणसम्मका मुख्य सडक कालोपत्रे, मोटरेवल पुलहरु निर्माण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माणको कामले तिव्रता लिइरहेको छ । एक घर एक धारा अभियान निकट भविश्यमै पुरा हुने गरी प्राथमिकता साथ आयोजनाहरु निर्माणको चरणमा छन् ।
देशमा राजनैतिक ब्यवस्थाको गतिरोधसंगै सरकारहरु परिर्वतन भएका छन् । संघ र प्रदेश सरकारको नेतृत्व परिर्वतन भएसंगै ति दुरगामी आयोजनाहरुको भविश्य के हुने भन्ने चिन्ताले पर्वतबासीलाई पिरोलीरहेको छ । कतिपय आयोजनाहरु निर्माणकै चरणमा रहेको हुँदा ति आयोजनाहरुमा बजेट अभाव हुने वा बजेटान्तर भएर अर्को शीर्षकमा जाने चिन्ताकै वीच गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट सार्वजनिक भएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा पर्वत जिल्लाका लागि करिब ३६ करोडको बजेट विनियोजन भएको देखिन्छ । विनियोजीत बजेट मध्ये ठेक्का आब्हान भई निर्माणको चरणमा रहेका करिब १० वटा सडकहरुमा २६ करोड रकम विनियोजन भएको छ । यी सडकहरु मध्ये कतिपयमा काम सम्पन्न भए पनि निर्माण ब्यवसायीले रकम भुक्तानी लिन पाएका छैनन् । बाँकी आयोजनाहरुमा निर्माण काम भइरहेको छ ।
गण्डकी प्रदेश सरकारमा नयाँ नेतृत्व आए पछिको पर्वत जिल्लाको लागि प्रतिफल जिल्लामा झण्डै १ सय साना, टुक्रे र कार्यकर्ता मुखी सडक आयोजनाहरुमा झण्डै ११ करोड रकम विनियोजन भएको छ । १ लाख देखि ३० लाखसम्मका ९८ वटा सडक आयोजनामा रकम विनियोजन भएको छ । साविक जिल्ला विकास समिति मार्फत विनियोजन हुने साना, टुक्रे र कार्यकर्तामुखी बजेटको सिको गर्दै वर्तमान सरकारले सडक निर्माणका लागि विनियोजन गरेको १ लाख, ५ लाख, ७ लाख, ८ लाख, १० लाख र १२ लाखका आयोजनाहरुले पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति नहुने स्पष्ट देखिन्छ । प्रदेश सरकारले १५ लाख देखि ३० लाखसम्मका ९८ आयोजनाहरुमा बजेट विनियोजन गरेको छ । जिल्लाका सवै मुख्य सडकमा कालोपत्रेको काम भइरहेको बेलाम थप सडकहरु कालोपत्रे गर्ने गरी बजेट विनियोजन गर्नुपर्ने बेलामा प्रदेश सरकारले भने साना र टुक्रे आयोनाहरु मार्फत कार्यकर्तामुखी बजेट विनियोजन गरेपछि प्रमुख प्रतिपक्षि दल एमालेका कार्यकर्ता भने रुष्ट भएका छन् ।
जिल्लामा शुरुवात भएका सडक पूर्वाधारका आयोजनाहरुमा थप पैसाको ब्यवस्थापन र ठेक्का आब्हान गर्न बाँकी आयोजनाहरुमा बजेटको सुनिश्चित गरी ठेक्का आयोजनाग गरी कालोपत्रेको काम शुरु गर्ने योजना वर्तमान सरकारले अघि सारेको देखिदैन् । वितेको ४ बर्ष अघिसम्म जिल्लामा आउने संघ र जिल्लाका यस्तै साना र टुक्रे योजनाका कारण जिल्लाको विकास निर्माणको कामले गति नलिएको स्पष्ट देखिन्छ । सरकारको परिर्वतनसंगै तिनै योजनाहरुमा बजेट पुनरावृत्ति हुँदा जिल्लाको विकास रकेट गतिमा हुनेमा भने शंका पैदा भएको छ ।
गत बर्ष देखि नै क्रमागत रुपमा निर्माण भइरहेका कुश्मा दुर्लुङ शालिजा सडक, कुश्मा मोदीवेनी सडक, अस्पताल चोक बन्जी जम्प हाइवे सडक, लुंखु देउराली मिलन चोक बालाकोट सडक, हिलेखोला कार्किकनेटा खलडाडा फलेवास जैमुनीघाट सडक, मिलन चोक सल्यान घाहाखेत धारापानी ठोटनेरी सडक, दोविल्ला फलेवास सडक, डिमुवा रातामाटा स्यानीपोखरी ठुलिपोखरी ठाँटी सडकको लागि भने क्रमागतः बजेटको ब्यवस्थापन गरिएको छ ।
नयाँ आयोजना तर्फ सिर्सुवा ढिक मुखियाथर लक्ष्मी नारयाण् मन्दिर हुँदै शंकरपोखरी पुग्ने सडक, खरेहा स्कुल देखि गोदाम मन्दिर पुग्ने कुश्मा नगरपालिका अन्तर्गतको, तथा चुवा स्वास्थय चौकी देखि राजमार्ग पुग्ने सडक तथा लुंखु बालाकोट सितले सदने सरौ खोला हुवास सडकका लागि ३५ देखि ५० लाखका दरले रकम विनियोजन भएका छन् । आगमी बजेटमा कुश्मा कल्लेरी र फडके ढुंगा मोटरबाटो जलजलाका लागि ३० लाखका दरले बजेट विनियोजन भएको छ । अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार




