४ चैत, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले आयोजनाका मजदुरको उचित ब्यवस्थापन गर्न सम्बन्धित आयोजनाका निर्माण ब्यवसायीलाई आग्रह गरेको छ ।
नगरपालिका भित्र सञ्चालीत आयोजनाहरुका मजदुरहरुलाई ब्यवसायीले पनि वास्ता नगरी भोकै रहने अवस्था आएमा भने नगरपालिकाले उनीहरुलाई राहत उपलब्ध गराउने नगरप्रमुख पदमपाणी शर्माले बताएका छन ।
शर्माले आज एक विज्ञप्ति जारी गर्दै लक डाउनका कारण कोहि मजदुर पनि अलपत्र नपार्न र भोकै हुने वातावरणको सृजना हुन नदिन निर्माण ब्यवसायीलाई अनुरोध गरेका छन ।
विज्ञप्तिमा भनिएको छ –‘आयोजनाको जिम्मेवारी लिएर काम गरेका निर्माण ब्यवसायीले आयोजना कार्यान्वयन नभएको अवस्थामा श्रमिकको स्वस्थ्य, खाद्यन्न र बसाई ब्यवस्थापन गर्नु हुन, लक डाउनको कारणबाट श्रमिक अलपत्र परेको, खाद्यन्न अभाव भएको जस्ता गुनासा नआउने वातावरण सृजना गर्न निर्माण ब्यवसायीलाई आब्हान गर्दैछौं ।’
नगरप्रमुख शर्माले कुनै कारण श्रमिकलाई खाद्यन्न ब्यवस्थापन गर्न कठिनाई भए निर्माण ब्यवसायीले वडा कार्यालय मार्फत समन्वय गरी समस्या समाधान गर्न समेत अनुरोध गरेका छन ।
आजै विज्ञप्ति प्रकाशित गरी नगरप्रमुख शर्माले नगरपालिका भित्रका ६ सय ७३ जना अति विपन्नलाई राहत वितरण गरीएको जानकारी दिएका छन ।




