२३ जेठ, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले जिल्लाबासीको शिर झुकाउने गरि आफुले कुनै गल्ती नगरेको बताए । पर्वतको फलेबास नगरपालिकाले शुरु गरेको ‘क्लिन फलेबास , ग्रिन फलेबास अभियानको बुधबार शंकरपोखरीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जिल्लाबासीले गौरब गर्ने गरि काम गर्ने तर शीर झुक्ने गरि एउटा पनि गल्ती नगर्ने बताए ।
पछिल्ला समयमा राष्ट्रिय सभा र अध्यक्ष तिमिल्सिनालाई जोडर आएका समाचारहरुको उहाँले कडा शब्दमा खण्डन गरे । ‘मैले जिल्लाबासीले शिर झुकाउने गरि एउटा पनि गल्ती गर्दिन,’ उहाँले भन्नुभयो ‘गलत नियत राखेर भएका हल्लाका पछि नलाग्नुहोला ।’ मिडियाले गलत नियत र उद्देश्य राखेर तथ्यलाई फरक ढंगले प्रस्तुत गरेर हल्ला फैलाउने काम गरेपनि आफुँ एक रति पनि कुनै कुरामा नचुकेर काम भैरहेको उनको भनाई थियो ।
‘क्लिन फलेबास, ग्रिन फलेबास’’ अभियान थालेर फलेबासले नमुना कार्य शुरु गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले वातावरण सफा राखे संगै मन, मष्तिष्क पनि सफा राख्न आग्रह गरे । उनले उत्पादनमुलक वन, वातावरण र समाज निर्माण गर्ने कुरा ब्यबहारमा कार्यान्वयन हुन सके सबै फलेबासीहरु सम्पन्न हुन सक्छन भन्दै त्यसका लागि लाग्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी, नेकपा पर्वतका नेता भक्त कुवँर, नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा, वडा नं ३ का अध्यक्ष अर्जुनबहादुर क्षेत्री र नगरपालिकाका योजना सल्लाहकार देबीप्रसाद तिमिल्सिनाले मन्तब्य राखेका थिए ।
फलेवास नगरपालिकाले नगरपालिका भित्रको फोहोर ब्यवस्थापन गर्र्ने अभियानको शुरुवात गरेको हो । अभियान अन्तर्गत नगरपालिका भित्रको फोहोर ब्यवस्थापन गर्नुका साथै रुख विरुवा रोपेर नगरपालिकालाई हराभरा बनाइने नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । फलेवासले देशका अन्य नगरपालिका भन्दा बेग्लै तरिकाले योजनाबद्ध विकास निर्माणको कार्य प्रारम्भ गरेको दावी गर्दै नगरप्रमुख शर्माले अभियान सफल हुँदा फलेवासमा सम्बृद्धि आउने दावी समेत गरे ।




