Print

पर्वत अस्पतालको ब्यवस्थापन सुधार हुँदै, यी हुन पर्वत अस्पतालले शुरु गरेका नयाँ सेवाहरु

२६ जेठ, पर्वत । जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालको ब्यवस्थापन पक्षमा सुधार आएको छ । जिल्लाको एक मात्र सरकारी अस्पताल विगत लामो समय देखि रिफर सेन्टरको रुपमा चिनिदै आए पनि अस्पतालको नयाँ ब्यवस्थापन समूह आएसंगै ब्यवस्थापनमा सुधार हुन थालेको हो । १५ शैयाको अस्पतालमा कम दरबन्दी र कर्मचारीको अभावका कारण पटक पटक समस्या सृजना हुदै आएको थियो । एक्सरे मेसिन कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आएको जिल्ला अस्पतालमा विगत केहि समय अघि भने एमडिजिपि डाक्टरको समेत अभाव थियो ।

डाक्टरको अभाव, दरबन्दी संख्यामा कमी र विग्रेका उपकरणहरुका कारण स्वास्थ्य सेवा प्रभावित भए पनि नयाँ ब्यवस्थापन समितिले भने ति सवै समस्याहरु सुधार गर्न थालेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन ।

के के सुधार हुँदैछ

लामो समय देखि कम क्षमताको एक्सरे मेसिनको भरमा अस्पतालमा एक्स–रे परिक्षण हुदै आएको थियो । १ सय एमए क्षमताको एक्सरे मेसिनले सामन्य एक्सरे सेवा प्रदान गर्दै आइरहेकोमा ब्यवस्थापन समितिले ३ सय एमए क्षमताको मेसिन प्रयोगमा ल्याएको छ । ‘ ३ सय एमए क्षमताको मेसिन बिग्रेर स्टोरमा थन्किएको थियो’ अध्यक्ष पहाडीले थपे–‘अस्पतालको मेसिन मर्मत गरेर हामीले प्रयोगमा ल्याएका छौं’ पुरानो मेसिनले मोटो शरिरको एक्सरे गर्न समस्या थियो । अहिलेको मेसिन प्रयोगमा ल्याएपछि विरामीलाई ठूलो राहत मिलेको अध्यक्ष पहाडीको भनाई छ ।

२०४६ सालमा स्थापना भएको अस्पतालमा दरबन्दी संख्या नै थोरै रहेको अध्यक्ष पहाडी बताउँछन । २ जना मात्रै डाक्टरको दरबन्दी भएको अस्पतालमा अहिले दरबन्दी बाहेकका ९ जना एमविविएस डाक्टर कार्यरत छन । ब्यवस्थापन समितिले ति डाक्टरहरुको ब्यवस्थापन गरेको अध्यक्ष पहाडीले जानकारी दिए ।
१५ शैयाको अस्पतालमा सरकारी प्रावधान अनुसार अप्रेसन सेवा अनिवार्य छैन । अध्यक्ष पहाडीलेृ थपे–‘समितिको पहलमा अप्रेसन सेवा सुचारु गरिएको छ ।’

अहिले हाइड्रोसिल, प्रसुति, एपेन्डिक्सको अप्रेसन सेवा शुरु गरिएको छ । अप्रेसनका लागि बेहोस बनाउने चिकित्सक एनेसथेसिया अस्टिटेण्डको अीत.अस्पतादमा अभाव थियो । अस्पतालको ब्यवस्थापन पक्षले प्रदेश सरकारसंगको समन्वयमा एक जना एनेसथेसिया अस्टिटेण्ड जिल्ला अस्पतालमा कार्यरत रहेको अध्यक्ष पहाडीले बताए । १ जना मात्रै असिस्टेण्ड भएका कारण कर्मचारी विदामा बस्दा बाहेकका दिनमा भने जिल्लामै अप्रेसन सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ ।

गत बर्ष १९ जनाले मात्रै पोषण सेवा लिएकोमा चालु बर्षको तेस्रो चौमासिकसम्म ५९ जनाले पोषण सेवा लिएका छन । यस अघि अस्पतालका कर्मचारीहरुले पोषण वापतको रकममा हिनामिना गरेको समाचार सार्वजनिक हुने गरेको थियो । यस बर्ष भने सवै रकमको सदुपयोग भएको अस्पताल ब्यवस्थापन समितिको दावी छ । पोषण लिनेको संख्या कम हुने तर सवै रकम खर्च हुने गरेकामा यस बर्ष भने पोषण सेवा लिनेको संख्यामा ३ गुना बृद्धि भएको छ ।

पछिल्लो समय निकै ठूलो समस्याको रुपमा रहेको थाइराइङ रोगको जाँच गर्ने मेसिन जिल्ला अस्पतालमा भित्रिएसंगै उक्त सेवा समेत अस्पतालमा शुरु भएको छ । थाइराइङको जाँच गर्नका लागि विरामी अव भने पोखरा जान नपर्ने भएको अस्पतालले जनाएको छ ।

अस्पतालको ब्यवस्थापन पक्षको सुधारका लागि आम्दानी खर्च कम्युटराइज प्रणालीबाट शुरु गरिएको अस्पतालले जनाएको छ । नगदी रसिदबाट कारोबार हुँदै आएको बिलिङ प्रणालीलाई ब्यवस्थित गरेसंगै पारदर्शीता र शुसासन प्रणालीको अभ्यास पर्वत जिल्ला अस्पतालले पहिलो पल्ट शुरुवात गरेको हो । ब्यवस्थापन समितिले सिसिक्यामरा मार्फत अस्पतालका सवै गतिविधिहरु अनुगमन गर्ने प्रणालीको समेत शुरुवात गरेको छ । अस्पतालमा दन्त रोग सेवा समेत शुरुवात भएको छ ।

१५ शैयाको अस्पताल भएपनि ३५ शैयाबाट सेवा प्रवाह गरेको अस्पतालको लागि हाल नयाँ र सुविधा सम्पन्न अस्पताल निर्माण कार्य भईरहेको छ । उपयुक्त दरबन्दी सहित नयाँ बन्ने अस्पतालमा ५० शैयाको ब्यवस्थापन गर्ने गरी प्रदेश सरकारसँग आफूले पहल गरेको अध्यक्ष पहाडीले बताए ।

जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा पटक पटक गुनासाहरु आइरहेकोे स्मरण गर्दैै सवै खालका समस्याहरुलाई समाधान गर्न समितिले सकारात्मक रुपमा प्रयास गरीरहेको पहाडीको भनाई छ । अस्पतालमा हाल बन्द रहेको औषधि पसल समेतको सञ्चालन गर्ने प्रयास भईरहेको अध्यक्ष पहाडीले जानकारी दिए । केहि समय अघि कुश्मा नगरपालिकाले बजेट उपलब्ध नगराउँदा रोकिएको प्रसुति सेवा वापतको यातायात खर्च समेत अहिले नियमित रुपमा प्रदान भईरहेको छ ।
नयाँ समितिको गठनसंगै अस्पताललाई पर्वत र बागलुङको दक्षिणी क्षेत्रका बासिन्दाको लागि उपचारको भरपर्दो संस्था बनाउने गरी काम भईरहेको अस्पताल ब्यवस्थापन समितिले दावी गरेको छ ।

अर्थ वीट साप्ताहिकबाट