Print

कुश्माको ऐतिहासिक शिवालय मन्दिरमा बहुउद्देश्यीय आश्रम बन्दै, वडाअध्यक्ष गिरीले गरे शिल्यान्यास

१९ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ मा पर्ने ऐतिहासिक शिवालय मन्दिरमा बहुउद्देश्यीय आश्रमको निर्माण कार्य शुरु गरिएको छ । भवनको एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न ६ का वडाअध्यक्ष रुद्र गिरीले शिल्यान्यास गरे । साविक शिवालय गाविसमा पर्ने उक्त मन्दिर १७ औं शताब्दीमा निर्माण भएको हो । मन्दिर परिसर भित्र निर्माण गरिने भवनमा सत्तल, आश्रय स्थल र सभा हल समेतको निर्माण गरिने भएको छ । भवनको शिल्यान्यास गर्दै वडाअध्यक्ष गिरीले कुश्मा बजारको पहिचानसंग जोडिएको मन्दिर ओझेलमा परेको भन्दै अव भने धार्मिक र पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने बताए । गिरीले भवन निर्माणका लागि अपुग हुने रकम ब्यवस्थापन नगरपालिकाबाट समेत गर्ने प्रतिबद्धता समेत जनाए ।

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक बर्षका लागि ४० लाख रुपैंया विनियोजन भएको छ । कुल १ करोड ५० लाखको लागत स्टिमेटमा तयार गर्न लागिएको भवन बाहेक मन्दिर परिसरमा थप संरचनाहरु समेतको निर्माण गरिने गरी कामको शुरुवात गरिएको छ । १७ औं शताब्दीमा कुश्माका गिरी समुदायहरुले निर्माण गरेको उक्त मन्दिरको नामबाट साविकको शिवालय गाविसको समेत नामाकरण गरिएको वडाअध्यक्ष गिरीको भनाई छ । झण्डै ५ रोपनी भन्दा बढि क्षेत्रफलको जग्गा मन्दिरले प्रयोग गर्ने गरी शिवालय गुटीको नाममा रहेको छ ।

मन्दिरमा शिवालय धनेवश्री महादेवको पुजा हुँदै आएको छ । मन्दिरबाट कुश्मा बजार र अग्ला पुलहरुको दृश्यावलोक गर्न सकिने भएकाले पनि यसलाई पर्यटकीयस्थलको रुपमा समेत विस्तार गर्न सकिने गरी मन्दिरको गुरु योजना निर्माण गरिएको छ । मन्दिरको निर्माण गर्दा मासको पिठोको प्रयोग गरिएकाले नेपाल सरकार पुरातत्व विभागले उक्त मन्दिरलाई पुरातत्व संरचनामा सुचिकृत गरेको छ । मन्दिरको साविकको संरचनामा भने कुनै परिर्वतन गर्न पाइदैन । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरमा नारेश्वर र रुद्राक्षका बहुमूल्यबान रुखहरु समेत रहेकाले यसको संरक्षण र ब्यवस्थापनमा स्थानीयबासीको थप जागरुकता आएको स्थानीय शिव गिरी बताउँछन ।

भवनको शिल्यान्यास कार्यक्रममा पर्वत जिल्ला अस्पताल समितिका अध्यक्ष गोविन्द पहाडी, शिवालय माविका ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरी, पर्वत बाङमय समाजका अध्यक्ष शंकर गिरी, स्थानीय राम गिरी लगाएतले मन्दिरको संरक्षण र ब्यवस्थापनको विषयमा आफ्नो धारणा राखेका थिए । भवन निर्माण समितिका अध्यक्ष ज्ञानेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण गिरीले गरेका थिए ।