१२ फागुन, पर्वत । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीलाई सम्मान गरेको छ ।
शनिवार कुश्माको पकुवा स्थित सिल्मीमा आयोजना गरेको बनभोज कार्यक्रममा सांसद गिरीलाई प्रतिष्ठानले सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै सांसद गिरीले कलाकारीता र पत्रकारीतालाई राज्यले अझै यथोचित सम्मानजनक ब्यवहार गर्न नसकेको भन्दै आफूले केन्द्रिय सरकारमा यो विषय लैजाने प्रतिबद्धता ब्यक्त गरे ।
उनले दुवै क्षेत्रले देशको इज्जत बढाउन भूमिका खेल्ने भएकाले यथोचित सम्मान हुनुपर्ने बताए ।
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले लोक गीत भित्रका विसंगतिहरु रोक्नुपर्ने जरुरी रहेको औल्याए ।
उनले छाडा संस्कृति भित्राउने कलाकारहरुलाई मेला महोत्सवका आयोजकले नै नियन्त्रणमा लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछाने मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष दिपक गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजकुमार विक र स्वागत मन्तब्य प्रतिष्ठानका अञ्चल उपाध्यक्ष कृष्ण अखेलीले ब्यक्त गरेका थिए ।
कार्यक्रममा सांसद गिरीलाई प्रतिष्ठानको तर्फबाट बधाई तथा सम्मान ब्यक्त गरिएको थियो ।




