Print

एशियाकै ठुलो महाशिलामा पन्ध्र किलोको घण्ट स्थापना

 २१ साउन, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका स्थित लुंखुदेउरालीमा रहेको विश्वकै ठुलो महासिलामा पहिलोपटक घण्ट स्थापना गरिएको छ ।

पर्वतका सक्रिय साहित्यकार तथा महाशिला गाउँपालिकाका लेखापाल टुकनाथ रेग्मी बेलुरामको एकल लगानीमा १५ किलोग्राम तौलको घण्टा शुक्रवार एक कार्यक्रमका बीच स्थापना गरिएको हो । पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपुर्ण मानिएको महाशिलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचार प्रसार हुन नसकेका बेला बेलुरामको पहलमा पहिलोपटक घण्टा स्थापना भएपछि यहाँ आउने भक्तजन तथा पर्यटकहरुलाई सहज भएको छ । विकट गाउँमा रहेको ऐशियाकै ठुलो भनिएको महाशिलाको प्रवद्र्धन गर्ने उद्धेश्यले आफुले व्यक्तिगत लगानीमा घण्टा स्थापना गरेको बेलुरामले बताउनुभयो ।

एक दशक पहिले सम्म महाशिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वहरुमा मेला लाग्ने गरेको भएपनि पछिल्लो समयमा वुढापाकाको मृत्यु हुँदै जानु र युवाहरु पलायन हुनुले महाशिलाको प्रचार प्रसार हुन सकेको थिएन । सदरमुकाम कुश्मावजारवाट करिव ४० किलोमीटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठुलो महाशिलालाई स्थानीयस्तरमा मेहलढुङ्गा भनिन्छ । विश्वकै ठुलो महासिला भएकाले यसलाई अवलोकन गर्न जिल्लामा भित्रिने आन्तरीक तथा वाह्य पर्यटकहरु आउने गर्दछन् । लुंखुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटकहरु आउने गरेका छन् । स्थानीयबासीहरु भन्छन महासिला (ढुङ्गा) एकपटक हिडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्छ रे । झण्डै दुई चार सय मिटर पैदल हिडेर परिक्रमा गरेपछि गुफाको चारैतीर घुम्न सकिन्छ । भौगोलिक हिसावले भिरालो स्थानमा रहेकाले एकपटक फन्को मार्नका लागि १० मिनेट भन्दा वढि समय लाग्ने स्थानीवासीहरु वताउँछन् । उक्त घण्टको महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले घण्ट बजाएर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले पर्वतकै पहिचानको रुपमा रहेको महाशिलाको पर्याप्त प्रचार प्रसार र प्रवद्र्धन गरी बढि भन्दा बढि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन गुरुयोजना सहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महाशिला–५ लुंखुका वडाध्यक्ष जीवन विक्रम उच्चै, महाशिला ६ का अध्यक्ष रामबहादुर विक, महाशिला ३ का अध्यक्ष रोशन गुरुङ, फलेवास नगरपालिका ३ का वडा सदस्य निर्मला रेग्मी, महिला सञ्जालका अध्यक्ष सरस्वती अधिकारी, महाशिला विकास समितका अध्यक्ष रामलाल अधिकारी, पूर्व अधयक्ष कृष्णप्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको संचालन रेडक्रस महाशिलाका सभापति कमलापति शर्माले गर्नुभएको थियो ।  बाबुबाजेका पालामा पुजारीहरु वसेर पुजापाठ गर्ने गरेपनि अहिले यस्तो प्रचलन हटेको छ भन्नुहुन्छ स्थानीय लोककुमारी पौडेल । विश्वकै सवैभन्दा ठुलो भएर पनि उचित प्रचार प्रसार हुन सकको छैन पौडेलले भन्नुभयो यसको उचित प्रचार प्रसार गर्न सके यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने थियो । पौडेलले बालाचतुर्दशी, शविरात्री, रामनवमी, अक्षयतृतिया लगायतका चाडपर्वहरुमा मेला लाग्ने बताउनुभयो ।