१२ असार, पर्वत। मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँ कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाद्वारा शुक्रबार जारी गरिएको सूचना अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत भई कार्यान्वयनमा रहेका बजेट तथा कार्यक्रमहरूको भुक्तानीलाई मध्यनजर गर्दै असार १४ र २१ गते (आइतबार) पनि गाउँ कार्यपालिकाको कार्यालय नियमित रूपमा सञ्चालन गरिने भएको हो।
सूचनामा उल्लेख भएअनुसार ती दुवै दिन कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। साथै कार्यालयका सम्पूर्ण शाखा तथा मातहतका कर्मचारीहरूलाई अनिवार्य रूपमा उपस्थित भई नियमित सेवा प्रवाह गर्न प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी ले निर्देशन दिएका छन्।
आर्थिक वर्षको अन्त्यमा बजेट तथा विकास कार्यक्रमहरूको भुक्तानी, प्रशासनिक कार्य र सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट सेवाग्राहीलाई समयमै सेवा प्राप्त हुने र आर्थिक वर्षभित्रका कार्यक्रम कार्यान्वयन तथा भुक्तानी प्रक्रिया प्रभावकारी रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।





