Print

विदेशीएका पुरुषहरुले यसरी ब्यहोर्दैछन् पर्वतमा महिलाबाट पिडा

२७ जेठ, पर्वत । विवाह गरेको ३ महिनामा श्रीमान विदेश गए । श्रीमतीसंग ३ महिना विताउन नपाउँदै विदेश गएका श्रीमान २ बर्ष विदेश बसे । विदेशमा कमाएको सवै धन श्रीमतीको नाउँमा पठाए । श्रीमान विदेश गएपछि भने उनकी श्रीमतीको सम्बन्ध अर्कै ब्यक्तिसंग जोडियो । २ बर्षमा श्रीमान घर फर्कदा श्रीमतीसंगै बस्न नसक्ने भनेर अर्कै ब्यक्तिको साथमा लागिन । बर्षदेखि भरी दुःख गरेर कमाएको न धन बच्यो न श्रीमती नै । श्रीमानले अर्को विहेका लागि कानूनी रुपमा सम्बन्ध विच्छेद गर्ने इच्छा जाहेर गरेपनि श्रीमतीले मोटो रकम विना सम्बन्ध विच्छेन इन्कार गरिन । सम्बन्ध बिच्छेद विना श्रीमानले अर्को विहे गरे बहुविवाहमा उजुरी लाग्छ । बहुविवाह प्रमाणित हुँदा बर्षौ जेल बस्नुपर्छ । दुःख गरेर कमाएको न धन रह्यो न श्रीमती । प्रतिनिधिमूलक यो घटना सुनाउँदै पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल भन्छन–‘प्रहरी कार्यालयमा दर्ता हुने हिंसाका घटनामा महिला मात्र होइन पुरुष पनि प्रताविड भईरहेका छन ।’ विदेश गएका श्रीमानका श्रीमतीहरुले कमाएको धन पनि नदिने र सम्बन्ध विच्छेद पनि नगर्दा पुरुष माथि ठूलो हिंसा हुने गरेको बताउदै खनालले प्रहरीलाई सहजीकरण गर्न समेत समस्या सृजना हुँदै आएको बताए । प्रहरी कार्यालयमा वैदेशिक रोजगारका भएका समस्याहरुको संख्या निकै ठूलो रहेको उनले बताए । सवै समस्यालाई मुद्धामा लैजानुभन्दा मेलमिलाप गरी मिलाउने पहिलो भूमिका आफूहरुले मिलाएको पनि खनालले बताए ।

जिल्ला न्यायाधिस मोहनराज भट्टराईले महिला सम्बन्धि कानून कडा भएका कारण पनि पुरुषहरु पिडामा परीरहेको भन्दै कानून बमोजीम न्याय गर्दा कहिलेकाही कोहि ब्यक्ति अन्यायमा पर्नसक्ने स्विकार गरे । जिल्ला अदालतमा आउने अधिकांश सम्बन्ध विच्छेदका घटनाहरु मध्ये अधिकांश सम्बन्ध विच्छेद वैदेशिक रोजगारका कारण भएको बताउदै भट्टराईले श्रीमतीले सहज ढङगले सम्बन्ध विच्छेद गर्न नमानेमा पुरुष निकै ठूलो कानूनी समस्या पर्ने बताए । केहि प्रतिनिधिमूलक घटनाहरुको उदाहरण दिदै न्यायधिस भट्टराईले विदेशबाट कमाएको रकम श्रीमतीले खर्च भयो भनेर बयान दिएमा कानूनले खर्चको विवरण समेत लिन नपाउने बताए । ‘वैंक वा अन्य निकायमा सम्पत्ति राखे नराखेको पत्ता लगाउन कानूनले अवरोध गर्छ’ उनले भने–‘यस्तो अवस्थामा श्रीमतीले सवै रकम नदेखाउँदा श्रीमान थप समस्या परेका छन ।’ नेपालमा महिला हिंसा रोकथामका लागि निकै कडा खालका कानूनहरु रहेको बताउदै न्यायधिस भट्टराईले पर्वतमा घरेलु महिला हिंसाका मुद्धा रहेपनि ति हिंसा सामान्य प्रकृतिका रहेको जानकारी दिए । जटिल प्रकृतिका घरेलु हिंसा नघटेको बताउदै उनले दर्ता भएका ५ घटना मध्ये ४ घटना चालु बर्षमा फछ्र्यौट भएको जानकारी दिए । बालविवाह र मानव वेचविखन, जवरजस्ती करणी र हाडनाता सम्बन्धि घटनाका मुद्धा पनि जिल्ला अदालतमा दर्ता भएको उनले बताए ।

सदरमुकाम कुश्मा बजारमा आयोजीत लैगिंक हिंसा न्यूनिकरण कार्यक्रममा बोल्ने बत्ताहरुले हिंसा महिला माथि मात्र नभएर पुरुष माथि पनि हुने गरेको धारणा राखेका हुन । प्रेस चौतारीका केन्द्रिय सदस्य पत्रकार गणेश पौडेलले वैदेशिक रोजगारका कारण पिडा भोगेका पुरुषहरुको पिडाको कतै पनि सुनुवाई नहुने गरेको भन्दै दुःख ब्यक्त गरे । अर्का पत्रकार महासंघ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्माले केहि जोडीले वैदेशिक रोजगार सहज बनाउन कागजी सम्बन्ध विच्छेद पनि गरीरहेको बताए । महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले सवै खालका हिंसाहरु न्यूनिकरण हुनुपर्ने धारणा राखे । उनले राज्यको निकायबाट हिंसाका कारण पिडा कसैले पनि भोग्न नपर्ने गरी कर्मचारीले न्याय दिलाउने काममा लाग्नुपर्ने समेत धारणा राखे । उक्त कार्यक्रममा सञ्चारकर्मी, मानव अधिकारकर्मी र गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।