Print

निर्वाचनमा बालबालिका प्रयोग नगरियोस् भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

१२ बैशाख, पर्वत । जिल्लामा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समितिमा आबद्ध भएका संघसंस्थाहरुले आउँदो निर्वाचनका कुनै पनि गतिविधिमा अनुपयुक्त ढंगले बालबालिकाको प्रयोग नगरियोस् भनी जिल्ला निर्वाचन अधिकारीको ध्यानाकर्षण गरेका छन् ।

पछिल्लो समयमा जिल्ला सदरमुकामलगायत जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचनसम्बन्धी प्रचारप्रसार सामग्रीहरु टाँस्ने तथा वितरण गर्ने काममा बालबालिकाहरुको प्रयोग भएको पाइएकाले त्यसो नगर्न र नगराउनका लागि अनुरोध गर्दै ध्यानाकर्षण गरिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समितिमा आबद्ध सीड नेपाल, सोडेक नेपाल, इन्प्रेड नेपाल, गैसस महासंघ, नेपाल अपांग उत्थान समाज, आरम्भ नेपाल, रेडियो कुशुम, बालिका सरोकार सञ्जाल र एनचिष्टु नेपाललगायतका संस्थाहरुले जिल्ला निर्वाचन अधिकारी लक्षु शर्मासमक्ष ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र हस्तान्तरण गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा नागरिक समाज सञ्जाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले राज्यका सबैजसो निकायले बालबालिकालाई शान्तिक्षेत्रका रुपमा स्वीकार गरिसकिएकाले कुनै पनि बहानामा निर्वाचन प्रयोजनका लागि बालबालिकाको प्रयोग हुन नहुने कुरामा जोड दिए । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी क्रियाकलापहरु, जुलुश प्रदर्शन, विजय ¥याली, सामग्री ओसारपसार, पर्चा पम्प्लेट टाँस्ने आदि काममा बालबालिकाको प्रयोग नगर्न तथा नगराउन कडा कदम चाल्नुपर्ने अभियन्ताहरुको माग रहेको छ ।

आफूहरु शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने सन्दर्भमा पनि रहेकाले बालबालिकाको पढ्न पाउने अधिकार स्थापित गर्नका लागि यसप्रकारको ध्यानाकर्षण गर्नुपरेका सदस्य सचिव यज्ञप्रसाद शर्माले बताए । ध्यानाकर्षणपत्र ग्रहण गर्दै जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले नागरिक समाजको तर्फबाट प्राप्त भएका सुझाव र सल्लाहलाई आफूहरुले सकारात्मक रुपमा ग्रहण गरेको र निर्वाचनका गतिविधिमा जानअन्जानमा कहीँ कतै बालबालिकाको प्रयोग भएको भए तुरुन्त रोकिने र आगामी दिनमा प्रयोग हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन दिइने बताए ।

उनले नागरिक समाजका संघसंस्थाहरुले निर्वाचन सम्बन्धी कामकारबाहीको सुक्ष्म अनुगमन गरिदिनका लागि अनुरोध समेत गरे । ध्यानाकर्षणपत्रमा राजेन्द्र पहाडी, देवीप्रसाद तिमिल्सिना, शिवप्रसाद शर्मा, यज्ञप्रसाद शर्मा, नेत्रकला सुवेदी, जगन्नाथ शर्मा, कविता विक, गणेश गिरी, टंकलाल भुषाल, टुकप्रसाद शर्मा र बलिनारायण रेग्मीले हस्ताक्षर गरेकाछन् ।