Print

बलात्कारका आरोपित दुई युवा थुनामा

१२ वैशाख, पर्वत । २१ बर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई युवालाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पक्राउ परेका मोदीगाउँपालिका तिलाहारका ३१ बर्षिय सुरेश लामिछाने र २७ बर्षिय सन्दिप केसी थुनामा परेका हुन् ।

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश मोहनराज भट्टराईको इजलासले सोमबार दुवै आरोपित युवाहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । प्रहरीले दर्ता गरेको जवरजस्ती करणी मुद्धामा थप अनुसन्धान तथा सोधखोज गर्नुपर्ने कारण देखाउँदै उनीहरुलाई थुनामा राख्ने आदेश दिएको हो ।

आरोपित युवाहरुलाई कुश्मा नगरपालिका ११ पकुवा, छापाकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गत चैत १७ मा डिमुवा बजारबाट नियन्त्रणमा लिएको थियो । सुस्त मनस्थिति रहेकी २१ बर्षिया एक युवतीलाई मादक पदार्थ सेवन गरेका उनीहरुले बलात्कार गरेको जाहेरी पिडित युवतीका परिवारले प्रहरीमा दिएका थिए । आरोपित दुई युवाले युवतीलाई मादक पदार्थ सेवन गरी जवरजस्ती गरेको पिडित युवतीको तर्फबाट दिइएको जाहेरीमा उल्लेख छ ।

मादक पदार्थ सेवनबाट अचेत जस्तै बनेका उनीहरुलाई १७ गते राती नै प्रहरीलाई खबर गरी नियन्त्रणमा लिन लगाएका थिए । नियन्त्रण पश्चात प्रहरीले मेडिकल तथा अन्य अनुसन्धानका कार्य सम्पन्न गरी मुद्धा दायर गरेको थियो ।