२५ चैत्र, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले मुलुकमै पहिलो पटक कार्यालयका जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याएको छ । कार्यालयका सेवाहरु स्मार्ट बोर्ड र कार्यालयको जानकारी पुस्तिका प्रकाशन गरेको जिल्ला प्रशासनले मोबाइल एप पनि सार्वजनिक गरेको हो ।
नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाको बारेमा एप्समा जानकारी समावेश गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । ‘जुनसुकै ठाउँमा बसेर पनि कार्यालयले दिने सेवाका बारेमा जानकारी लिन सकियोस भनेर मोबाइल एप शुरु गरेका हौ’ उनले भने ‘सबैका हातमा मोबाइल र इन्टरनेट भएकाले नागरिक बडापत्र हेर्न कार्यालय आउने झण्झट यसले हटाएको छ’ कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिकमैत्री डिजिटल बडापत्र पनि यसमा राखिएको छ ।
त्यस्तै नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधी, स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधी, धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी, महत्वपूर्ण सम्पर्कहरु, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरण सहित नागरिकता सम्बन्धि संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्ता लगायतका सेवासुविधा लिने प्रक्रिया समेत उल्लेख गरिएको छ । त्यस्तै जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ ।
यसले जनतालाई सेवा सुविधा लिन तथा सुशासन कायममा भूमिका खेल्ने प्रजिअ मरासिनीले बताए । नागरिकलाई दु्रत सेवा दिन पनि यसले सहयोग गर्ने उनको भनाई छ । साथै उनले यस एप्समार्फत सरकारी सेवा लिनको लागि आवश्यक पर्ने कागजात र प्रक्रिया उल्लेख गरिएको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले एकैदिनमा सेवा लिन सक्ने जनाए । कार्यालयले यो एप्सलाई डाउनलोड गरि आवश्यक जानकारी लिन सक्ने जनाएको छ । यो एप्स एन्ड्रोईड मोबाइलमा मात्र डाउनलोड हुनेछ ।





प्रतिकृया दिनुहोस्