Print

स्याङजामा नगरप्रमुख पदमा दावेदारहरुको लर्को

२३ चैत्र, पर्वत । स्याङ्जाका पाँच नगरमा मेयरका लागि पार्टीको जिल्ला नेतृत्व तहकै अगुवाबीच प्रतिस्पर्धा हुने चर्चा छ । दलहरूले उम्मेदवारको नाम टुंगो लगाउन केही समय लाग्ने बताए पनि सम्भावितको लबिङ सुरु भइसकेको छ । मेयरको प्रतिस्पर्धीमा पुरुषहरूको हकमा महिला पनि सँगसँगै प्रतिस्पर्धी छन् ।

पुतलीबजार नगरपालिकामा मेयरमा कांग्रेसका तर्फबाट तुलसी रेग्मी, दीपक लम्साल र तुलसी गिरीको चर्चा छ । रेग्मी क्षेत्र नम्बर एकका सभापति हुन भने लम्साल र गिरी महासमिति सदस्य हुन् । यस्तै एमालेबाट महेश पुरी, मिनप्रसाद गुरूङ र सीमा क्षेत्रीको चर्चा छ । गुरुङ पार्टी अध्यक्ष हुन् भने पुरी र क्षेत्री जिल्ला सदस्य हुन ।

स्याङजा जिल्ला अस्पताल विकास समितिको अध्यक्ष हुँदा अस्पतालको क्षेत्रमा गरेको सुधारका कारण पुरी त्यो क्षेत्रका निकै बलिया दाबेदार मानिन्छन । लामो समय देखि नेकपा एमालेको सक्रिय राजनीतिमा लागेका उनी राजनीतिसंगै सामाजिक आन्दोलनहरुमा समेत सक्रिय छन । पुरीलाई टिकट दिलाउन पार्टी कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई दबाब दिइरहेको बुझिन्छ ।
उता, माओवादी केन्द्रबाट नारायण लम्साल, अमृता अर्याल र संघ ताम्राकारको चर्चा छ । लम्साल नगर कमिटी अध्यक्ष हुन् भने अर्याल र ताम्राकार जिल्ला सदस्य हुन् ।

राप्रपाबाट नगर कमिटी अध्यक्ष भूमिजंग केसी र पूर्वकेन्द्रीय सदस्य मदन कार्कीको चर्चा छ भने जनमोर्चाबाट हीरामती शाहीको चर्चा छ । यस्तै भीरकोट नगरपालिकामा कांग्रेसका सत्यराम खनाल, तोपराम अर्याल, दीपेन्द्र केसी, गोविन्द आचार्य र पीताम्बर श्रेष्ठको चर्चा छ । एमालेबाट क्षेत्रीय अध्यक्ष सन्तोष केसी चर्चामा छन् । माओवादी केन्द्रबाट मीनप्रसाद कोइराला, चन्द्रबहादुर रोकाको चर्चा छ । कोइराला नगर अध्यक्ष हुन् । राप्रपाबाट जिल्ला सदस्य गोकुल अधिकारी चर्चामा छन् ।

वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट भोजराज अर्याल, दिलीपप्रताप खाँड, केदार काफ्ले र कल्पना तिवारीको चर्चा छ । अर्याल पूर्वमेयर हुन् भने खाँड नगर अध्यक्ष, काफ्ले पूर्वक्षेत्रीय अध्यक्ष हुन् । तिवारी महिला संघको जिल्ला अध्यक्ष हुन् । एमालेबाट कृष्ण खाँड, पुण्यप्रसाद अर्याल, मोहन रेग्मी र उदयबहादुर श्रेष्ठको चर्चा छ । खाँड क्षेत्रीय अध्यक्ष हुन् भने अन्य जिल्ला सदस्य हुन् । माओवादी केन्द्रबाट नित्यानन्द तिवारी, प्रकाश न्यौपाने, हुमबहादुर गुरुङ र कल्पना अर्यालको चर्चा छ । राप्रपाबाट श्याम अर्याल, महेश काफ्ले, द्रोणबहादुर गुरुङको चर्चा छ । जनमोर्चाबाट राजेन्द्र गैरे र हुमबहादुर राय पनि चर्चामा छन् ।

गल्याङ नगरपालिकामा कांग्रेसबाट लालगोपाल अर्याल, गुरुप्रसाद भटराई, महेन्द्र श्रेष्ठ र श्याम बस्यालको चर्चा छ भने एमालेबाट भुपराज अधिकारी, रामवीर गुरुङ र किसान श्रेष्ठ तथा माओवादी केन्द्रबाट लोकेन्द्र थापा, टेकनाथ न्यौपाने र नरबहादुर रानाको चर्चा छ ।

राप्रपाबाट धर्मराज न्यौपाने, ज्ञानप्रसाद न्यौपाने र टेकनाथ न्यौपानेको चर्चा छ । चापाकोट नगरपालिकाका लागि कांग्रेसबाट शिव गिरी, रामचन्द्र पंगेनी र भगवत प्रकाश मल्लको चर्चा छ भने एमालेबाट हरि पंगेनी, डा. बृद्धिमान श्रेष्ठ र रामचन्द्र भट्टराईको चर्चा छ । यसैगरी माओवादी केन्द्रबाट चन्द्र थापा, टीकाराम श्रेष्ठ र राजु कोइराला तथा नयाँ शक्तिबाट रामु बस्याल चर्चामा छन् । उम्मेदारका आंकाक्षीहरू जिल्लामा रहेर क्रियाशील राजनीति गर्ने र पार्टीको नेतृत्व तहमा रहेकाहरू छन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस