२२ चैत्र, पर्वत । खानेपानीको समस्याबाट पिडित पर्वतबासीहरुलाई पछिल्ला दिनमा लिप्ट खानेपानीका आयोजनाहरु आउन थालेपछि भने खानेपानीको समस्याबाट मुक्ति पाउन थालेका छन । जिल्लाको दक्षिणी क्षेत्र महाशिला गाउँपालिकाका अधिकांश वडाहरुमा खानेपानीको समस्या छ ।
खानेपानीको मुहान नजिक नहुँदा उनीहरु खानेपानीबाट लामो समय देखि बञ्चित हुँदै आएका छन । गाउँपालिकाको होश्राङदी क्षेत्रमा साविकको ४, ५ र ९ वडामा पनि खानेपानीको चरम समस्या थियो ।
खानेपानीको समस्या ब्यहोर्दै आएका उनीहरुले अहिले भने उत्साहित देखिन्छन । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा स्थानीय नजिकैको गुफा पधेराबाट थुम्का भन्ने ठाउँसम्म खानेपानीको लागि लिप्ट प्रविधिबाट पानी खसालेपछि भने स्थानीयबासीमा खुशी देखिन्छ ।
झण्डै ३ सय मिटर उकालो जमिनमा ९ सय मिटर सतहको दुरी पुरा गरी उक्त खानेपानी लिप्ट प्रविधिबाट माथि तानिएको छ । पानीलाई ट्याङकीमा जम्मा गरी स्थानीयबासीलाई वितरण गर्ने गरी तयारी भईरहेको छ । खानेपानीको समस्या परेपछि बर्षातको पानी संकलन गरी स्थानीयबासीले हिउँदको समयमा उपभोग गर्दै आएका थिए । पानीको समस्यालाई स्थानीय स्तरबाट समाधान गर्न नसकेपछि जिल्ला समन्वय समिति मार्फत परियोजनाले उक्त स्थानमा सहयोग गरेको हो ।
झण्डै १ करोड ७७ लाखको लागतमा निर्माण सम्पन्न हुन लागेको उक्त आयोजना चालु आर्थिक बर्ष भित्र पुरा गर्ने गरी काम भईरहेको परियोजनाका सल्लाहकार प्रसन्न पाण्डेले जानकारी दिए । कुल लातमा परियोजनाको कुल १ करोड १६ लाख रकम, जिल्ला समन्व्य समितिको ७ लाख, गाविसको १० लाख ६० हजार र स्थानीयको ४ लाख ३४ हजार रुपैंया लागतको साझेदारीमा उक्त आयोजना सम्पन्न हुन लागेको हो ।
उक्त आयोजनामा कुल ९० वटा मिटर जडित धाराहरु जडान हुनेछन । ब्यक्तिगत देखि सार्वजनिक स्थलमा जडान हुने धाराबाट स्थानीय खानेपानीको उपभोग गर्न पाउने पाण्डेयले जानकारी दिए । उक्त खानेपानीबाट सुवेदीखर्क, सिर्गारकोष, गडी, जम्पुर र पैयूका स्थानीयले पानीको प्रयोग गर्नेछन ।
तस्विर : टिकाराम भुषालको फेसवुकबाट






प्रतिकृया दिनुहोस्