१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटको मापदण्ड र विधि निर्धारण गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहिबार बसेको स्थायी कमिटी बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार मापदण्ड र सिफारिस प्रक्रिया टुंगो लगाएको नेता शंकर पोखरेलले बताए ।
नयाँ मापदण्डअनुसार निर्वाचनमा एमालेको उम्मेदवार बन्न सिनियर, पार्टीमा निरन्तर लागेको, पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्नेछ ।
बैठकले उम्मेदवार छनौटको विधि पनि निर्धारण गरेको छ । जसमा वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा, गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाइनेछ ।
गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले छनोट गर्नेछ । तर, त्यसमा पनि सम्बन्धित तहको सिफारिस र जिल्लाको राय चाहिनेछ ।
उपमहानर र महानगरका मेयर र उपमेयरको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने निर्णय भएको छ ।
एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित ‘अन द स्पट’ कारबाही गर्ने निर्णय समेत गरेको छ ।





प्रतिकृया दिनुहोस्