११ चैत्र, पर्वत । स्थानीय तहको पुनः संरचना सँगै अहिले विभिन्न भौगोलिक र क्षेत्रगत रुपमा वनावटहरु फेरिएका छन् । यसरी स्थानीय तह पुनः संरचना गर्दा पर्वतको कुश्मा नगरपालिका समुन्द्री सतह ५ सय १० मिटर उचाईमा रहेको मोदीवेणी तिर्थस्थलदेखि २ हजार ५ सय १७ मिटर उचाईमा रहेको पञ्चासे लेकसम्मको क्षेत्रफल ओगटेको छ ।
पर्वतका विभिन्न साविकको १४ गाविसलाई समेटेर बनेको कुश्मा नगरपालिका क्षेत्रफलका हिसावले मात्रै फराकिलो छैन । यो नगरपालिका विभिन्न छिमेकी ३ जिल्लालाइृ समेत सिमाना बनाएर बनेको छ । जसमा कुश्मा नगरपालिकाको पुर्वमा स्याङजा र कास्की जिल्ला सिमाक्षेत्र रहेको छ भने पश्चिममा बागलुङ जिल्ला सिमा क्षेत्र बनाएको छ । कुल ९३ दशमलव १८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुश्मा नगरपालिका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा प्राकृतिक सम्पदाले बलियो नगरपालिकाको रुपमा स्थापित भएको हो ।
पर्वतको साविकका विभिन्न ११ गाविसलाई समायोजन गरेर यस अघि बनेको नगरपालिका अहिले स्थानीयतह पुनःसंरचनाका क्रममा ठूलिपोखरी, खौलालाँकुरी र आर्थर गाविसलाई समायोजन गरी १४ वडा सहितको नगरपालिका बनेको हो । यस अघि ६६ दशमलव ४६ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको कुश्मा नगरपालिकामा यी तीन गाविस समायोजन सँगै २६ दशमलव ६२ क्षेत्रफल थपिएर ९३ दशमलव १८ क्षेत्रफल ओगटेको कुश्मा नगरपालिकाका असिस्टेण्ट सब इञ्जिनियर पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका पर्यटकीय हिसावमा समेत मजबुद बनेको जिल्ला समन्वय समिति पर्वतमा कार्यरत पर्यटन फोकल पर्सन चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
‘मोदीवेणी तिर्थस्थल देखि पञ्चासे लेकसम्मको भुभाग पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिन्छ’ यस अघिपनि जिल्लाका सरोकारवाला निकायबाट पर्यटकीय क्षेत्र बनाउनका निम्ति पञ्चासेमा विविध गतिविधि सञ्चालन हुँदै आएको र यस बर्ष कुश्मा नगरपालिकामा पञ्चासे लेक समावेश भएपछि पञ्चासे क्षेत्रको विकास हुने सम्भावना र आशा बढेको स्थानीय पञ्चासे क्षेत्रका प्रभावित बासिन्दा होमनाथ रिमालले जानकारी दिनुभयो ।
धार्मिक तथा पर्यटकीय स्थल पञ्चासे लेक साविकको आर्थर डाँडाखर्क गाविसमा पर्दछ । सोही लेकलाई सिमा बनाएर छिमेकी स्याङजा र कास्की जिल्ला समेत जोडिएका छन् ।
यता बागलुङको सिमानातर्फ भने कालीगण्डकी नदी जोडिएको छ । कालीगण्डकी नदीको झण्डै ३ किलोमिटर लम्बाई सम्मको भुभाग कुश्मानगरपालिकासँग जोडिएको छ । कुश्मा नगरपालिकाले कालीगण्डकी नदीबाट ¥याफ्टिङ व्यवसायबाट समेत फाइदा लिन सक्ने पर्यटन व्यवसायी राजन गुरुङले बताए । – सन्तोष थापा





प्रतिकृया दिनुहोस्