२९ फागुन, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको शवयात्रामा हजारौं नागरिक सहभागी भएका छन् ।
गत बिहीबार मृत्यु भएका गौतमको शवयात्रा उनको गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पुग्ने छ र त्यहाँ उच्च सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ ।
शवयात्रा सहभागीहरुले वर्तमान सरकार प्रति चर्को आक्रोस ब्यक्त गरेका छन । नेपाली भूमिमा विदेशी सेनाको गोलीबाट एउटा नेपालीले विरगति प्राप्त गर्दा पनि सरकारको माथिल्लो निकायले यस विषयमा भारतलाई कुनै पनि प्रतिक्रिया लिन नसकेको भन्दै सरकार साच्चिकै लम्पसारबादी भएकाले त्यस्तो सरकार नेपालीलाई नचाहिने बताएका छन ।
पुनर्वास नगरपालिकाको आनन्दबजारको नेपाल-भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर ज्यान गुमाएका गौतमलाई सरकारले शहीद भने घोषणा गरेको छ ।
सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको शवयात्रा धनगढीको डोके बजार, एलएन चोक, चौराहा, त्रिनगर भन्सार नाका हुँदै कञ्चनपुरको पुर्नवास नगरपालिकामा पुग्ने छ । पुनर्वास नगरपालिकाको आइबीआरडीमा अन्तिम श्रद्धाञ्जली दिएपछि ६५ विगास्थित दोदा नदी किनारमा पुर्याइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । त्यहाँ नेपाल प्रहरीले ११ तोपको सलामी दिनेछ ।
उनको शव राखिएको गाडिलाई फूलमालाले सजाइएको छ र राष्ट्रिय झण्डा राखिएको छ । गाडीको अघिल्तिर गौतमको फोटो राखिएको छ । शव यात्रामा सयौं नागरिकको सहभागिता छ । शवयात्रामा सहभागीहरुले बीर शहिद अमर रहुन्, शहिद गोविन्द गौतम जिन्दावाद लगायतका नारा लगाइरहेका छन् ।
शवयात्रामा हजारौं नागरिक सहभागी छन् । शवयात्रामा कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत छन् ।
तर, गौतमको मृत्यु भएपछि सम्भावित घटनालाई रोक्न स्थानीय प्रशासनले पुनर्वास नगरपालिकामा लगाएको निषेधाज्ञा आइतबार पनि जारी हुँदा शवयात्रामा सहभागी हुन समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।






प्रतिकृया दिनुहोस्