२१ फागुन, पर्वत । जिल्लामा बैदेशिक रोजगारीमा झण्डै ३० हजार युवा युवती विभिन्न मुलुकमा रहेका छन् । भारत बाहेक नेपाल सरकारवाट स्वीकृत प्राप्त राष्ट्रहरुमा जाने युवायुवतीको संख्या २२ हजार ७ सय पुगेका छन् । भारतमा गएकाहरु समेतको गणना गर्दा झण्डै ३० हजारको हाराहारीमा युवाहरु रोजगारीका लागि प्रवासमा गएको देखिन्छ ।
जसमध्ये १९ हजार पुरुष र ३ हजार ७ सय महिला रहेका छन् । जिल्लाका कुल ३५ हजार ७ सय घरपरिवार मध्ये झण्ढै १६ हजार घरपरिवारवाट १ देखि ३ जनासम्म वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तत्थ्यांकले देखाएको छ ।
विदेशिन युवा युवतीबाट बार्षिक रुपमा जिल्लामा सवा ८ अर्ब रेमिटान्स भित्रिने गरेको छ । बढ्दो बैदेशिक रोजगारीसँगै भित्रिने गरेको रेमिटान्सका कारण जिल्लावासीहरुको आर्थिक आत्मनिर्भरता बढेर गएको छ ।
विभिन्न मुलुकमा जानेहरुले प्राप्त गर्ने तलबमान र जिल्लामा क्रियाशिल मनि ट्रान्सफरहरुले दिएको तथ्यांक अनुसार बार्षिक ८ अरब भन्दा बढी रेमिटान्स भित्रिने गरेको हो । रेमिट्यान्स भित्रिने क्रम पनि वर्षेनी बढ्दो क्रममा रहेको छ ।
हालै जिल्लामा सार्वजनिक गरिएको तथ्यांकमा जिल्ला स्वदेशका विभिन्न पेशा व्यवावसाय भन्दा वैदेशिक रोजगारीवाट आत्मनिर्भर हुन थालेकोले रेमिट्यान्सको दर पनि वर्षेनी बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । उनले भने विदेशीने युवायुवतीहरुको बृद्धि सँगै जिल्लामा खाद्यान्न उत्पादनमा समेत ह्रास आउन थालेको छ ।
जनशक्तिको अभावमा बाँझो जमिन बढ्दै जान थालेपछि जिल्लामा खाद्यान्न उत्पादन समेत घट्दै जान थालेको रेग्मीले बताए ।
सरकारले विश्वका झण्डै ४५ वटा राष्ट्रमा रोजगारी तथा अन्य पेशा व्यावसायका लागि जान नेपालीहरुलाई स्वीकृत दिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालवाट ४ लाख जनाले श्रम स्वकृति लिई विदेश गएका छन भने श्रम स्वीकृति प्राप्त नगरी विदेश जानेहरुको संख्या पनि उत्तिकै छ ।
पर्वत जिल्लावाट बार्षिक रुपमा ५ हजार भन्दा बढि युवायुवती विदेशिने गरेको तथ्यांक छ । जसमध्ये खाडी मुलुकहरुमा जानेको संख्या ४५ प्रतिशत भन्दा बढि छ भने युरोप, अमेरिका, अस्टे«लिया, जापान, क्यानडा, अफगानिस्तान, इजरालय, बेलायत, लिविया, कोरिया लगायतका देशहरुमा गएको पाइएको छ ।





प्रतिकृया दिनुहोस्