Print

स्याङ्जाको फेदीखोला नेपालमै पहिलो ‘पूर्ण डिजिटल’पालिका बन्दै

स्याङ्जा, कात्तिक २८। स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै डिजिटल प्रविधिमा आधारित एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवनबाट नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

नयाँ प्रणाली लागू भएसँगै अब सेवाग्राहीले आफ्नो कामका लागि विभिन्न शाखा तथा कोठामा फाइल बोकेर धाउनुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ।

सेवाग्राहीले पेस गरेको निवेदन वा फाइल कुन शाखामा पुगेको छ र कामको प्रगति के भइरहेको छ भन्ने विवरण कार्यालयमा जडान गरिएको डिजिटल डिस्प्ले (मनिटर) मार्फत प्रत्यक्ष हेर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

स्थानीय तहको सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र कागजविहीन (पेपरलेस) बनाउने उद्देश्यले सुरु गरिएको यो अभ्यासले सार्वजनिक प्रशासनमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।