बिचौलियालाई पैसा तिर्नु नपर्ने, जिल्ला प्रशासन कार्यालय पर्वतले सुरु गर्यो सेवाग्राहीमैत्री व्यवस्था
३१ भदौं, पर्वत । राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि अनलाइन फाराम भर्न अब सेवाग्राहीले बाहिरका साइबर तथा बिचौलियाको भर पर्नुपर्ने भएको छैन। जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयबाटै निःशुल्क रूपमा अनलाइन फाराम भरिदिने व्यवस्था गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीलाई छिटोछरितो, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ। गृह मन्त्रालय, शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्राचारअनुसार कार्यालयबाट राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवाका लागि आवश्यक अनलाइन फाराम भर्ने सेवा निःशुल्क उपलब्ध गराइने भएको हो।
यसअघि अनलाइन फाराम भर्नका लागि सेवाग्राहीहरू साइबर तथा अन्य व्यक्तिको सहयोग लिनुपर्ने र त्यसबापत शुल्क तिर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थापछि कार्यालयमै पुगेर बिनाशुल्क फाराम भर्न सकिने भएपछि सेवाग्राहीलाई आर्थिक भार कम हुने भएको छ।
कार्यालयले अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिने जनाएको छ।
त्यसैगरी, कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि निगरानी गरी कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले कार्यालयबाट निःशुल्क उपलब्ध हुने सेवाको प्रत्यक्ष लाभ लिन र बिचौलियाको प्रलोभनमा नपर्न सेवाग्राहीलाई आग्रह गरेको छ।
सिडिओ कार्यालयको यो व्यवस्थाले विशेषगरी राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फाराम भर्न नजान्ने सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।




