Print

कालीगण्डकी लोकमार्गले बदल्दै पर्वतको कालीगण्डकी तटीय क्षेत्र

२० साउन, पर्वत । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको कालीगण्डकी लोकमार्ग (करिडोर)ले पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । उत्तरमा चीनको सीमा क्षेत्रदेखि दक्षिणमा भारतीय सीमासम्म जोड्ने यो रणनीतिक सडकले पर्वतका नदी तटीय बस्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक मार्गसँग जोड्दै विकासको नयाँ आधार तयार गरिरहेको छ ।

पर्वत जिल्लाको विहादी गाउँपालिका, फलेवास नगरपालिका, कुश्मा नगरपालिका र जलजला गाउँपालिकालाई प्रत्यक्ष जोड्ने यस गौरबको आयोजनाले यो क्षेत्रको सडक सञ्जाललाई दुई देश वीचको सहकार्यको रुपमा स्थापीत गर्ने भएको छ ।

निर्माण कार्यको ढिलाई, सरकारी योजनाको जटिलताका कारण आयोजनाले निर्माण कार्य समयै सम्पन्न नहुँदा आउने जटिलतालाई पर राख्दा आयोजना सम्पन्न भए पछि यो क्षेत्रको आर्थिक परिर्वतनमा कोशे ढुंगा सावित हुने देखिन्छ ।

विगतमा दुर्गम मानिने कालीगण्डकी किनारका बस्तीहरू सडक पहुँचसँगै विस्तारै आर्थिक गतिविधिको केन्द्र बन्न थालेका छन् । कृषि उत्पादन, फलफूल, तरकारी, अदुवा, बेसार, सुन्तला, कागती तथा स्थानीय खाद्यान्न अब सहज रूपमा बजारसम्म पुग्ने सम्भावना बढेर गएको छ यसले किसानले उत्पादनको उचित मूल्य पाउने सम्भावना बढाएको छ भने व्यावसायिक कृषितर्फ आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ ।

कालीगण्डकी किनारका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने अवसर पनि करिडोरले सिर्जना गरेको छ । पर्वत, स्याङजा र गुल्मी वीचमा रहेको विश्वकै ठूलो दावी गरिएको शालीग्राम शिला, शालिग्राम पाइने क्षेत्र, धार्मिक महत्वको मोदीवेणी धाम तथा मन्दिर, गुप्तेश्वर, सहस्रधारा लगाएतका प्राकृतिक दृश्यावलोकन स्थल, ग्रामीण बस्ती, स्थानीय संस्कृति र परम्परालाई समेटेर नयाँ पर्यटकीय गन्तव्य विकास गर्न सकिने आधार बलियो बनेको छ ।

धार्मिक पर्यटन, साहसिक पर्यटन, होमस्टे, कृषि पर्यटन तथा नदी केन्द्रित पर्यटनका कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना बढेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि.पौडेल बताउनुहुन्छ ।
विशेषगरी पर्वतको बिहादी, पैयुँ, फलेवास, कुश्मा तथा महाशिला क्षेत्रका कालीगण्डकी तटीय बस्तीहरूमा होटल, रेष्टुरेन्ट, कृषि संकलन केन्द्र, कोल्ड स्टोर, पेट्रोल पम्प, यातायात सेवा, गोदाम तथा अन्य सेवा व्यवसाय विस्तार हुने पौडेलले अपेक्षा ब्यक्त गर्नुभयो ।

उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास भइरहेको कालीगण्डकी करिडोर भविष्यमा चीन र भारतबीचको व्यापारिक आवागमनको वैकल्पिक मार्गका रूपमा समेत उपयोग हुन सक्ने पूर्व मन्त्री पदम गिरी बताउनुहुन्छ । उहाँले लोकमार्ग सडक निकै महत्वपूर्ण भएको बताउँदै सडकलाई कुश्मा बजारको सम्पर्कमा जोड्नका लागि यस अघि नै अर्मादी–फलेवास ढिक सडक निर्माण अन्तर्गत ठेक्का आब्हान भइसकेको जानकारी दिनुभयो । हाल उक्त सडक खण्डमा निर्माणको काम भईरहेको छ ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सडकको पहँुचमार्ग विस्तार गरी कुश्मा बजारको सम्पर्कमा जोड्दा त्यसले बजार क्षेत्रको विकास र विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा राख्नुभएको छ ।
विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले लोकमार्गले यो क्षेत्रको सडक यात्रा मात्रै नभई आर्थिक, सामाजिक जीवनशैलीमा समेत परिर्वतन ल्याउने अपेक्षा राख्नुभएको छ ।

कालीगण्डकी करिडोर केवल एउटा सडक आयोजना मात्र नभई पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रको आर्थिक रूपान्तरण, सामाजिक परिवर्तन र पर्यटकीय विकासको दीर्घकालीन आधार बन्न सक्ने अपेक्षा गरिएको छ । सडकसँगै स्थानीय उत्पादन, प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र पर्यटनलाई योजनाबद्ध रूपमा जोड्न सकिए पर्वतका नदी किनारका बस्तीहरू आगामी दशकमा गण्डकी प्रदेशकै गतिशील आर्थिक क्षेत्रका रूपमा स्थापित हुन सक्ने फलेवास नगरपालिकाका पूर्व नगरप्रमुख पदमपाणी शर्माको भनाई छ । शर्माले कालीगण्डकी नदीलाई बहुउपयोग गरी बहुउद्देश्यीय जलाशय युक्त आयोजना सञ्चालनमा जोड दिनुभयो ।

कालीगण्डकी लोकमार्गको झण्डै ८१ किलोमिटर सडक खण्ड पर्वत जिल्लामा पर्दछ । सडकको विकास र विस्तारसंगै नदीको तटिय क्षेत्र र सडक सञ्जालको सम्पर्क क्षेत्रमा बजारीकरण समेत बढ्दै गईरहेको छ । १७ साउन, २०८३ को अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार