१५ माघ, पर्वत । झण्डै चार महिनापछि पर्याप्त वर्षा भएपछि पर्वतका कृषकहरु हर्षित बनेका छन् ।
लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीवाली प्रभावित भएपछि निरास भएका कृषकहरु शुक्रवार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन । खेतवारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीहरुको उत्पादन राम्रो हुने र मकै र बर्खे आलु लगाउनका लागि सहज भएको भन्दै उनिहरु हर्षित बनेका हुन ।
सिंचाईको सुविधा भएका ठाउँका कृषकहरु भन्दा सिंचाईको सुविधा नभएका ठाउँका कृषकहरुलाई ठुलो राहात मिलेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । वर्षा भएपछि कृषकहरुलाई खेतवारी जोतखन गर्ने र वर्खे वाली लगाउन सहज भएको र हिउँदे बालीको पनि उत्पादन राम्रो हुने अनुमान गरिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । उनले भने सहि समयमा वर्षा भएको छ ।
मंसिर र पुसमा वर्षा नभएका कारण सिंचाईको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको उहाँले बताउनुभयो । पर्वतमा सिंचाई सुविधा पुगेको झण्डै ७ हजार हेक्टर बाहेक अधिकांस स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुभपर्ने अवस्था रहेको छ ।
यसैबीच वर्षाका कारण गत विहिबारदेखि पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित पाँचौ पर्वत महोत्सवमा शुक्रवारका गतिविधि प्रभावित बनेका छन् । शुक्रवार विभिन्न कलाकारहरुको प्रस्तुती राख्ने र अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता र रत्यौली प्रतियोगिता राख्ने कार्यक्रम रहेको थियो । वर्षाले सवैभन्दा बढि महोत्सवका राखिएका १ सय ६० वटा स्टलका व्यावसायी समस्यामा परेको पिडितहरुले गुनासो गरेका छन् ।





प्रतिकृया दिनुहोस्