४ वैशाख, पर्वत । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हम्पाल लेक पछिल्लो समय पदयात्राीहरुको रोजाईमा पर्ने गरेको छ । हाइकिङमा रुचि राख्नेहरुका लागि यो क्षेत्रको पदयात्रा निकै रोमाञ्चित छ । मनोरम छ । फागुन देखि वैशाखसम्म फुल्ने रंगीबेरङगीका गुराँसका फुलहरुले यो क्षेत्रको महत्व अझै धेरै बढाएको छ ।
गुराँसका फुलहरु, पतझर, जलजला क्षेत्र, अग्ला टाकुरा, जंगली जनावहरुको बासस्थानका कारण यो क्षेत्रको प्राकृतिक सुन्दरता निकै उत्कृष्ट छ । पदयात्रीहरुका लागि अधिकांश स्थानहरुमा पदमार्ग निर्माण गरिएको छ । अझै पनि यो क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरी पूर्वाधार निर्माणका कामहरु गर्नुपर्ने देखिन्छ । पदयात्रा भुक देउराली वा क्याङ देखि शुरु हुन्छ । यो यात्राले पश्चिमी क्षेत्रबाट अगाडि बढ्दा माटेको लेकसम्मको उकालो चढ्नुपर्छ ।
यथोचित रुपमा आश्रम स्थलको यो ठाउँमा आवश्यकता देखिन्छ । पदयात्राको क्रममा शौचालयको आवश्यकता परिपूर्ति गर्ने गरी संरचना निर्माण गरिएको छैन । पदमार्गमा शौचालय निर्माणको आवश्यकता महत्वपूर्ण ढंगले उजागर हुन्छ । माटेको लेक पुगेपछि अधिकांश समथर यात्रा कतै उकालो र कर्तै ओरालो हुँदै वाइफाइ डाँडामा पुग्न सकिन्छ । यहाँ पुग्दासम्म माटेको लेक देखि आश्रम स्थलको अभाव देखिन्छ । केहि ठाउँमा भिरालो यात्रा गर्नुपर्ने भएका कारण छेउमा फलामको रेलिङको आवश्यकता महशुस हुन्छ । फोहोर ब्यवस्थापनका लागि पहल भएको देखिदैन ।
पदयात्रीले उत्पादन गर्ने प्लाष्टिकजन्य फोहोरहरुको यथोचित ब्यवस्थापनका लागि फोहोर संकलन केन्द्रको ब्यवस्थापन गर्नुपर्ने देखिन्छ । वाइफाई डाँडा पुगेपछि यो पदयात्रा जलजलासम्म पुग्छ । जलजला पुगेका पदयात्रीहरु जिल्लाकै उच्च शिर कोखे डाँडा हुँदै घोडेपानी र पुनहिलसम्मको यात्रामा जान सक्छन् ।
पर्यटकीय सम्भावनाको प्रचुर सम्भाब्यता रहेको यो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने देखिन्छ ।




