Print

अद्धितीय प्रकृतिको छटा “हम्पाल”


३ वैशाख, पर्वत । हुस्सुको काखमा बेरिएको हम्पाल लेक । केहि बरमा हुस्सुसंग अग्गालो हाल्छ । केहि बेरमै पारिला घामले न्यानो बनाउँछ । चैतको अन्तिम साता । ढकमक्क फुलेका गुराँसका फुल । सुन्दर पाटन, सुन्दर बुकी । वरीपरी चारैतिर चराचुरुङगीको चिरविर आवाज । हम्पाल लेकको विशेषता यहि हो । योग, ध्यान र साधना गर्न चाहनेहरुको लागि उत्तम ठाउँ हो हम्पाल लेक ।

हम्पाल लेकका भित्र थुप्रै विशेषताहरु छन् । यहि लेकमा कालाञ्जर क्षेत्र पर्दछ । कालाञ्जार हिन्दु धर्मशास्त्रमा बर्णित नाम हो । यहि स्थानमा जलजला क्षेत्र पर्दछ । प्रकृतिको अमूल्य बरदान हो जलजला । यहि स्थानमा माटेको लेक पर्दछ । माटेको लेक प्राकृतिक श्रोत साधनमा धनी ठाउँ हो । यहाँका अमूल्य सुन्दर ढुंगाहरुले बर्षौदेखि मानव जीवनको ओत लाग्ने अपेक्षा पुरा गरेको छ ।

हिमाली श्रृंखलाहरुलाई वारीबाट नियाली रहेको हम्पाल लेक भित्र पाइने मृगहरुका कारण यो लेकलाई मृगस्थली पनि भनिन्छ । बहुमूल्य जडिबुटिहरुले भरिएको हम्पाल लेक पर्वतको गरिमा हो । पर्वतको गौरब हो । पर्वतबासीहरुको शिर हो ।

पर्वतको जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सिमाना बनेको हम्पालको लेकले पदयात्रीको लागि दुलर्भ गन्तब्य पनि हो । प्रकृतिसंग रमाउनेहरुका लागि हम्पाल उत्तम गन्तब्य हो । हम्पालको लेक भित्र कालाञ्जर पर्वत पर्दछ । हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको धार्मिक रुपमा मान्यता रहँदै आएको छ । धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ ।

पछिल्लो समय यो क्षेत्रमा धार्मिक मठमन्दिर निर्माणको काम भईरहेको छ । धार्मिक तिर्थयात्रीका लागि आश्रम स्थल निर्माणको काम भईरहेको छ । जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले यो स्थानलाई धार्मिक क्षेत्र बनाउने संकल्प रहेको बताउनुहुन्छ । बार्षिक महायज्ञको आयोजना गरिएको यो स्थानमा देव देवालयले सुशोभित गरी ध्यान केन्द्र बनाउने स्थानीय सरकारको जोड छ ।

जलजला क्षेत्रबाट शुरु हुने पदयात्रा मोदी गाउँपालिकाका विभिन्न स्थान हुँदै भुकदेउराली पुग्दछ । हम्पाल लेकको जलजला क्षेत्रबाट वाइफाइ डाँडा, माटेको लेक, डाँडा कमेरे, फलाटे हुँदै भुकदेउराली पर्यटकीय गाउँ पदयात्राले जोडिएको छ ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले यो क्षेत्रलाई अन्नपूर्ण राउण्ड पैदल मार्गको वैकल्पीक पदमार्ग बनाउने गाउँपालिकाको योजना रहेको बताउनुहुन्छ । मोदी गाउँपालिकाको प्रसिद्ध भवरकोट समेतलाई पदमार्गमाको एउटा आकर्षणको केन्द्र बनाउने गाउँपालिकाको योजना छ । यो पदमार्गमा विभिन्न होटल तथा लजहरुको निर्माणको लागि गाउँपालिकाले उत्प्रेरणा जगाईरहेको छ । पदयात्राका सहभागीहरुलाई आरामदायी बसोबासको प्रवन्धमा पनि गाउँपालिकाको यथोचित ध्यान पुगेको देखिन्छ । होम स्टे सेवाको प्रवद्र्धन मार्फत पदयात्रालाई ब्यवस्थित बनाउने प्रयास भईरहेको छ ।

घना जंगल, शान्त र मनोरम वातावरणमा पदयात्रा गर्न चाहने प्रकृति प्रेमीहरुको लागि पर्वतको यो पदमार्ग गण्डकी प्रदेश भित्रकै एक मनमोहक पदमार्ग पनि हो । यहि पदमार्ग हुँदै म्याग्दीको घोरेपानी, पुनहिलसम्मको ट्रेक गर्न सकिन्छ । हम्पाल लेक अनेकन बिशेषता भएको प्रकृतिको अनुपम बरदान भएपनि प्रचारप्रसारको अझै पनि अभावे देखिन्छ ।