Print

अन्तराष्ट्रिय पर्वत समाजको चौथो महाधिवेशन माझफाँटमा

२६ असोज, पर्वत । प्रवासी पर्वतेलीहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

समाजले आज साँझ कुश्मामा गरेको पत्रकार सम्मेलनमा शनिवारदेखि हुने अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा रहेको मल्लाज दरवारमा आगामी असोज २७ र २८ गते हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ भने समग्र पर्वतको विकासका लागि घोषणापत्र र कार्ययोजना समेत निर्माण गर्ने भएको छ ।

अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने अभियानका साथमा समाजको गठन भएको र समाजले पवित्र भावनाका साथ काम गरिरहेको जानकारी दिए ।

अधिवेशनमा ३५० भन्दा बढि प्रवासीहरुको सहभागिता रहने महासचिब मणि भुर्तेलले जानकारी दिए। यस अघि पर्वतको कुश्मा, मोदीको चित्रे र दक्षिण पर्वतको पैंयुमा अघिल्ला अधिवेशनहरु गरिएको थियो । पर्वतका सवै पालिकाको समग्र विकास र सम्भावनाहरु उजागर गर्ने उद्धेश्यले हरेक अधिवेशन फरक फरक ठाउँमा गरिएको भुर्तेलले बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष पुरन गिरी र प्रथम उपाध्यक्ष गुणराज शर्माले अन्तर्राष्ट्रिय पर्वत समाजले स्थापना कालदेखि हालसम्म पर्वतको स्वास्थ्य, शिक्षा, कोभिड १९ को महामारी लगायतका क्षेत्रमा संस्थाले काम गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले माझफाँटमा हुने महाधिवेशनमा सहभागिका लागि खाने बस्ने सुविधाको व्यवस्थापन, मञ्च, कार्यक्रम स्थलसम्म पुग्ने सडक, सवारीसाधन लगायत सवैजसो तयारी पुरा भएको बताए ।

सो अवसरमा समाजले नेपाल पत्रकार महासंघ पर्वत शाखालाई एक थान ल्यापटप समेत हस्तान्तरण गरेको थियो । समाजका अध्यक्ष झलक केसीले महासंघ अध्यक्ष सन्तोष थापालाई हस्तान्तरण गरिएको थियो ।