Print

महासमिति सदस्य चयन गर्दै पर्वत कांग्रेस


२६ असोज, पर्वत । जिल्ला अधिवेशन सम्पन्न भएको झण्डै २ बर्ष पछि नेपाली कांग्रेसले पर्वतमा महासमिति चयनको प्रक्रिया शुरु गरेको छ । जिल्ला अधिवेशनमा चयन हुनुपर्ने महासमिति सदस्यको निर्वाचन स्थगीत गरेको कांग्रेसले केन्द्रको ताकेकासंगै महासमिति चयनको प्रक्रिया अघि बढाएको हो । क्षेत्रीय प्रतिनिधिहरुले मतदान गरेर निर्वाचित गर्नुपर्ने महासमिति सदस्यहरु सहमतीबाट नै टुंगाउने गरी कांग्रेसले आन्तरीक तयारी गरेको छ । जिल्ला अधिवेशनका निर्वाचित २७ जना महाधिवेशन प्रतिनिधिहरु मध्येबाट कांग्रेसले महासमिति सदस्यहरु चयन गर्नुपर्नेछ ।

जिल्ला अधिवेशनबाट निर्वाचित भएका २७ जना नेताहरु मध्येबाट ११ जना महासमिति सदस्यमा निर्वाचित हुनेपर्नेछ । जिल्ला अधिवेशनका झण्डै १२ सय प्रतिनिधिलाई पुनः मतदानको लागि बोलाउनुपर्ने झझण्डलाई ब्यवस्थापन गर्दै कांग्रेसले सहमतीका आधारमा महासमिति सदस्यको निर्वाचन सक्ने गरी आन्तरीक रुपमा तयारी गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरुको भेलाले सर्वसहमत महासमिति सदस्य टुंगाउनका लागि ३ सदस्यीय अधिकारसम्पन्न समितिको गठन गरेको छ । पाटीका पूर्व सभापति खिमप्रसाद भुषालको संयोजकत्वमा गठीत समितिमा महाधिवेशन प्रतिनिधि समेत रहेका बसन्तबहादुर सिके र कुलप्रसाद उपाध्याय सदस्य रहेका छन् । ३ सदस्यीय समितिले सर्वसहमत नाम प्रस्ताव गर्ने र त्यहि आधारमा महासमिति चयन हुने कांग्रेस श्रोतले जनाएको छ ।

यस अघि भएको जिल्ला अधिवेशनबाट युवराज जोशी अध्यक्षमा निर्वाचित भएका थिए । जिल्ला अध्यक्ष पाटीको विधानत महाधिवेशन प्रतिनिधि हुन्छन् । अधिवेशनबाट अन्य २६ जना सदस्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
महाधिवेशन प्रतिनिधिमा रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्र प्रसाद तिवारी, गंगाधर तिवारी, विद्धान गुरुङ, ऋषीकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्र प्रसाद तिवारी, बसन्त बहादुर सिके र खिमप्रसाद भुषाल खुल्ला तर्फ निर्वाचित भएका थिए ।

खुल्ला महिला तर्फ भने राधाकुमारी कुँवर, सिताकुमारी काप्ले लामिछाने, मुना भुषाल, रेखा गुरुङ निर्वाचित भएका थिए ।
दलित महिला तर्फ खैसरा दर्जी परियार र दलित तर्फ जीतबहादुर नेपालीलाई जिल्ला अधिवेशनले निर्वाचित गरेको थियो ।
खसआर्य महिला तर्फ मुना शर्मा लामिछाने, मिना कुमारी केसी र सिर्जना मल्ल निर्वाचित भएका थिए भने खस आर्य तर्फ तोरण मल्ल ठकुरी, डा. केदार सुवेदी, कुलप्रसाद उपाध्याय निर्वाचित भएका थिए ।

यसैगरी आदीबासी जनजाति तर्फ मिना कर्माचार्य, मोहनबहादुर गुरुङ निर्वाचित भएका थिए । अपांगता तर्फ लेखनाथ पौडेल, मुस्लिम तर्फ सनम बेगमलाई जिल्ला अधिवेशनले निर्वाचित गरेको थियो ।

निर्वाचित भएका सदस्यहरुबाट कांग्रेसले महासमिति सदस्य चयन गर्दैछ । कांग्रेसको विधान अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिला सहित सात जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट चार जना प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित हुनेछन् ।

पर्वत जिल्लामा ११ सदस्यीय महासमितिमा आरक्षण तर्फ ४ जना र खुल्ला तर्फ ७ जना चयन हुनेछन । खुल्ला तर्फ २ महिला अनिवार्य गरिएको छ । सर्वसहमत प्रतिनिधि चयनका लागि गठन भएको समितिले महाधिवेशन प्रतिनिधिहरुको धारणा बुझेर निर्णय गर्ने तयारी गरेको समितिका सदस्यहरुको भनाई छ ।