Print

फलेवासको नीति तथा कार्यक्रम : लोक्कल मदिरा ब्रान्डिङ गर्ने


१५ भदौ, पर्वत । संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी भएको फलेवास नगरपालिकाको नगर सभाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम र बजेट पारित गरेको नगरपालिकाले नीति तथा कार्यक्रममा चालु आर्थिक बर्ष देखि लोक्कल मदिरा ब्रान्डिङ गर्ने महत्वकाक्षी योजना अघि सारेको छ ।

स्थानीय स्तरमा उत्पादन हुने मदिराको दैनिक खपत अत्याधिक हुने गर्दछ । मदिरा उत्पादन तथा विक्री वितरणमा भने स्थानीय प्रहरी प्रशासनले रोक लगाउँदै आएको छ । गुणस्तर सुनिश्चित नभएको र राज्यले यसको उत्पादनमा समेत अनुमति नदिएका कारण प्रहरीले यसको उत्पादनमा रोक लगाउँदै आएको छ । फलेवास नगरपालिकाले भने लोक्कल मदिराको उत्पादनलाई वैध बनाउनको लागि आवश्यक पहल र प्रयास गर्ने गरी नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नगर प्रमुख गंगाधर तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । तिवारीले नीति तथा कार्यक्रममा यस विषयमा के कस्ता प्रयास गरिनेछन भन्ने कुरा भने उल्लेख गरेका छैनन । नीति तथा कार्यक्रममा उल्लेख भएको लोक्कल मदिरा ब्रान्डिङ गर्ने विषयलाई भने बजेटले संबोधन गरेको छैन् । नगर उपप्रमुख शोभा क्षेत्रीले प्रस्तुत गरेको बजेटमा मदिरा ब्रान्डिङ कार्यका लागि आवश्यक बजेटको ब्यवस्थापन गरिएको छैन ।

नीति तथा कार्यक्रममा स्थानीय स्तरको श्रोत साधन र जडिबुटिहरुको समेत उपयोग गर्दै संघ र प्रदेश सरकारसंग समन्वय गरी घरेलु मदिरा उत्पादन गरी त्यसको ब्रान्डिङ गर्ने कुरा उल्लेख गरिएको छ ।

मदिरा ऐन २०३१ ले मदिरा उत्पादन, विक्री, वितरणमा अनुमति लिनुपर्ने कुरा उल्लेख गरेको छ । ऐनको दफा ३ मा मदिराको उत्पादनमा नियन्त्रण सम्बन्धि ब्यवस्थामा भनिएको छ – कुनै व्यक्तिले इजाजतपत्र बेगर इजाजतपत्र पाएकोले पनि इजाजतपत्रमा तोकिएको शर्त बमोजिम बाहेक मदिराको उत्पादन गर्न पाउने छैन । मदिरा उत्पादन विक्री वितरण सम्बन्धि प्रावधानको दफा ४ को क मा भनिएको छ– कसैले पनि प्लाष्टिकको पोका पाउचमा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्न हुदैन । .

देशका सवैजसो ठाउँहरुमा स्थानीय मदिरा उत्पादन हुने गरे पनि त्यसलाई सरकारले वैधता प्रदान भने गरेको छैन । फलेवास नगरपालिकाले चालु आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा भने यसलाई वैधता प्रदान गर्ने कुरा उल्लेख गरिएको हो ।