Print

६४ दिनपछि भयो फलेबासको नगर सभा


१३ भदौ, पर्वत । संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी फलेबास नगरपालिकाको नगर सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको छ । नगरपालिकामा जनप्रतिनिधिहरु बीच बिवाद हुदाँ तोकिएको मिति भन्दा २ महिना पछि मात्र नगर सभा सम्पन्न भएको हो ।

आज सम्पन्न नगर सभामा नगर प्रमुख गंगाधर तिवारीले चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिवारीले चालु आर्थिक वर्षमा बनको बादर वनमै भन्ने नारा अघि सारेका छन् । जंगलमा फलफुल रोप्ने देखि बाझो जमिनमा आय मुलक उत्पादनमा प्रोत्साहन गर्ने तिवारीले निति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम साथै घर घरमा टनेल कार्यक्रम संचालन गर्ने तिवारीले उल्लेख गरेका छन् ।

पशु विमालाइ प्रोत्साहन गर्ने तथा पशु सुत्केरी कार्यक्रम अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बैदेशिक रोजगारवाट फर्केका युवालाई पशु तथा कृषि फर्म संचालन गर्न प्रोत्साहन गर्ने, परम्परागत पेशा गर्नेलाइ बिद्युत महशुलमा सौलिएत प्रदान गर्ने कार्यक्रम नगरले अगाडी बढाउने भएको छ ।

कक्षा ६ का बिद्यार्थीलाइ पनि दिवा खाजा उपलब्ध गराउने नीति तथा कार्यक्रममा तिवारीले उल्लेख गरेका छन् ।
एक शिक्षक एक ल्यापटप कार्यक्रम अगाडी वढाउने कुरा उल्लेख गरिएको छ । मानसिक रोगको निशुल्क उपचार गरिने तथा कडा रोगीको उपचारको सहयोगका लागि छुट्टै कोषको स्थापना गरिने तिवारीले उल्लेख गरेका छन् ।

खेलकुदको प्रर्बद्धन गर्ने, आगामी २०८३ सालमा बालमैत्री स्थानीय तह घोषणा गर्ने , न्याय सचेतना कार्यक्रम सञ्चालन गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख तिवारीले सडक मापदण्ड आबश्यकता अनुसार परिमार्जन गराउने निति तथा कार्यक्रममा उल्लेख गरेका छन् । यसै वीच नगरपालिकाका उप प्रमुख शोभा क्षेत्रीले ६८ करोड २५ लाख ११ हजार ८ सय १० रुपैंया बराबरको बजेट सार्वजनिक गरेकी छिन । चालु आर्थिक बर्षका लागि क्षेत्रीले उक्त बजेटको अनुमानित आयब्यय सार्वजनिक गरेकी हुन् ।