Print

आगामी बजेट बनाउन पर्वतका पालिकाहरु सर्वपक्षीय छलफलमा


२ असार पर्वत । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रम तयारीका लागि पर्वत जिल्लाका स्थानीय तहहरु सर्वपक्षिय छलफलमा जुटेका छन् । केहि दिन भित्र जारी गर्नुपर्ने बजेट निर्माणका लागि स्थानीय तहहरु आन्तरीक र बाह्य छलफलमा जुटेका हुन् ।


जिल्लाको फलेवास नगरपालिकाले औपचारिक रुपमा नै विभिन्न दल तथा स्थानीय बुद्धिजिविहरुलाई आमन्त्रण गरी बजेट नीति तथा कार्यक्रमका लागि सुझाब संकलन गरेको छ । नगरप्रमुखप गंगाधर तिवारीले आगामी बजेटलाई सर्वपक्षिय बनाउँदै नगरको विकासको मेरुढण्डको रुपमा रहेका विकास आयोजनाहरुलाई कसरी ब्यवस्थीत गर्न सकिन्छ भनेर छलफल कार्यक्रमका आयोजना गरिएको जानकारी दिए ।


फलेवास नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी, शिक्षक र बुद्धिजीवि तथा पूर्व जनप्रतिनिधिहरुले विभिन्न सुझाब उपलब्ध गराएका थिए ।

यसैगरी जिल्लाको पैयू गाउँपालिकाले पनि स्थानीयहरुसंग छलफल कार्यक्रमको आयोजना गरेको छ । पैयू गाउँपालिकामा विकास आयोजनाहरुलाई कसरी ब्यवस्थित तरिकाले सम्पन्न गर्न सकिन्छ र कस्ता आयोजनाहरु संग्लन्न गर्दा आगामी बजेट जनहितकारी हुन्छ भन्ने विषयमा सुझाब संकलन गरिएको पालिकाका प्रमुख तोरणमल्ल ठकुरीले बताए । उनले स्थानीयबासीले सकारात्मक तरिकाले सुझाब दिएका र ति सुझाबहरु आफूले अनुसरण गर्ने समेत बताए । पूर्व जनप्रतिनिधिहरु सहित स्थानीय बुद्धिजिविहरुलाई छलफलमा सहभागी गराइएको थियो ।

उता, मोदी गाउँपालिकाले पनि आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न पर्ने विषयहरुको सुचि तयार गर्न स्थानीय राजनैतिक दलका प्रतिनिधि तथा बुद्धिजिविहरुसंग परामर्श गरेको छ । गाउँपालिकाले आयोजना गरेको छलफलमा प्राप्त सुझाबहरुका आधारमा आगामी नीति तथा बजेट तय हुने गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् । गाउँपालिकाले राजश्व संकलन तथा विकास आयोजनाहरुका दिर्घकालीन महत्वका बारेमा स्थानीयहरुसंग छलफल गरी सुझाब संकलन गरेको हो ।
बाँकी पालिकाहरुले औपचारिक रुपमा छलफल कार्यक्रमको आयोजना गरेको उल्लेख नगरे पनि आन्तरीक रुपमा बजेट र नीति कार्यक्रम तयारीको छलफल भईरहेको उल्लेख गरेका छन् ।